logo
२०८१ मंसिर १५ शनिवार



तीन स्थानीय तह वाणिज्य बैङ्कविहीन

अर्थ |


तीन स्थानीय तह वाणिज्य बैङ्कविहीन


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । तीनवटा गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन । शाखा नपुगेका स्थानीय तहमा बागमती प्रदेशमा धादिङको रुबीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदूरपश्चिम प्रदेशमा बझाङको साइपाल गाउँपालिका रहेका छन् ।

यी गाउँपालिकामा पनि बैङ्क शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३ स्थानीय तहमध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो ।
त्यसैगरी २०७८ असार मसान्तसम्ममा ‘क’ वर्गका चार हजार ७५३, ‘ख’ वर्गका एक हजार २३, ‘ग’ वर्गका २२२ र ‘घ’ वर्गका चार हजार ६८५ गरी बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या कुल १० हजार ६८३ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनका अनुसार प्रतिबैङ्क तथा वित्तीय संस्थाहरूको शाखाबाट औसतमा करिब दुई हजार ८४४ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिन्छ । साथै शाखारहित बैङ्किङ सेवाको सङ्ख्या एक हजार ७०६ पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रक्रियाबमोजिम २०७८ असार मसान्तसम्म कुल २२९ बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५८ संस्था कायम भएका छन् । समीक्षा वर्षमा मात्र ‘क’, ‘ख’, र ‘ग’ वर्गका गरी ३३ संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई १२ बैङ्क तथा वित्तीय संस्था कायम हुन पुगेका छन् । सो अवधिमा भएका जम्मा २० वटा गाभ्ने/गाभिने तथा प्राप्तिमध्ये गाभ्ने÷गाभिनेतर्फ १० र प्राप्तितर्फ १० रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने कुल ६७ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । गत आवमा वर्षमा तीन खर्ब ७० अर्ब ३४ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ ।
यस्तै २०७७ असार मसान्तसम्म विभिन्न दरका गरी पाँच खर्ब ८८ अर्ब छ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकामा २०७८ असार मसान्तसम्ममा १६.२३ प्रतिशतले वृद्धि भई चलनचल्तीमा रहेका कुल नोट छ खर्ब ८३ अर्ब ५० करोड बराबरका छन् ।
राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । सो अवधिमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपियाँ छ । गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपियाँ कायम भएको छ । यो व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३२.८ प्रतिशत हो ।

गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा एक खर्ब ४१ अर्ब कर्जा र आठ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैङ्क, १८ विकास बैङ्क, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाले जम्मा ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?