logo
२०८१ मंसिर १५ शनिवार



कार्यान्वयनमा आएन क्रसर उद्योगलाई व्यवस्थापन गर्ने मापदण्ड

अर्थ |


कार्यान्वयनमा आएन क्रसर उद्योगलाई व्यवस्थापन गर्ने मापदण्ड
नदीको तिरमा सञ्चालित उद्योग । तस्बिर – जानु पाण्डे



जानु पाण्डे
कपिलवस्तु, मङसिर १४ गते । नेपाल सरकारले जारी गरेको ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ’ अनुसार दफा (११) ले क्रसर उद्योग सञ्चालनका लागि दूरीसम्बन्धी मापदण्ड पालना गर्न कडाइ गरेको छ ।

मापदण्ड अनुसार राजमार्ग, नदी, पुलदेखि पाँच सय मिटरको दूरीमा उद्योग खोल्न रोक लगाइएको छ । यसैगरी वन क्षेत्र, बस्तीदेखि दुई किलोमिटरको दूरीमा समेत उद्योग सञ्चालन गर्न नपाइने उल्लेख गरेको छ । तर कपिलवस्तुलगायत अन्य जिल्लामा मापदण्ड विपरीत क्रसर उद्योग निर्बाध रुपमा सञ्चालनमा छन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गतवर्षको मङ्सिर महिनामा जिल्लाको सब क्रसर उद्योगको अनुगमन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । अनुगमन गरेको एक वर्ष पूरा भए पनि रिपोर्ट सार्वजनिक गरिएको छैन । मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न सङ्घीय सरकारको निर्देशन अनुसार अनुगमन गरिएको थियो । अनुगमन पछि पनि क्रसर उद्योगलाई मापदण्ड अनुसार कायम गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार नेपाल सरकारले गतवर्ष नदीजन्य उद्योगलाई मापदण्डमा ल्याउन प्रयास गरिए अनुसार अनुगमन भएको बताउनुभयो । मापदण्ड नपुगेका उद्योगलाई सम्बन्धित स्थानीय सरकारले एक वर्षभित्र स्थानान्तरण गर्ने जिम्मेवारी रहे पनि कार्यान्वयनमा समस्या रहेको प्रष्ट पार्नुभयो ।

मापदण्डको दफा ११, उपदफा (९) मा ‘दूरी सम्वन्धी मापदण्ड पूरा नहुने गरी स१चालनमा रहेका क्रसर उद्योगलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाले एक वर्षभित्र वातावरण अध्ययन गराई स्थानान्तरण गर्न लगाउनुपर्नेछ र यसरी स्थानान्तरण हुन नमान्ने उद्योगको हकमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दर्ता खारेजीको लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने छ’ भनी उल्लेख गरिएको छ । तर सरोकारवाला निकाय भने मौन बसेको छ ।

जिल्ला प्रशासन प्रशासन कार्यालय कपिलवस्तु तथा घरेलु तथा साना उद्योग कार्यालयको टोलीले २९ वटा क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनपछि उद्योग स्थापनाको समयमा तोकिएको मापदण्ड जाँचका लागि घरेलु तथा साना उद्योग कार्यालयले कागजात जाँच गर्दै आएको थियो । प्रशासनको अनुगमनपछि क्रसर व्यवसायीहरू बन्द हुने भनी त्रसित भएका थिए ।

अनुगमनका क्रममा पाँच उद्योग सञ्चालनमा नभएको पाइएको थियो । बाँकी २४ उद्योगमध्ये धेरैजसो मापदण्ड विपरीत थिए । केही उद्योगले बालुवा प्रशोधनको इजाजत लिई क्रसरको समेत काम गर्दै आएको भेटिएको थियो । जिल्लामा रहेका धेरै क्रसर उद्योग खोलाको छेउमा सञ्चालन भएका छन् । खोला नजिकै भएका कारणले उनीहरूले नदीजन्य पदार्थ चोरी गर्न सजिलो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?