नवराज कट्टेल
विराटनगर, मङ्सिर १५ गते । विराटनगर भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकमा सबैभन्दा बढी प्रशोधित तेल निकासी भएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार पहिलो नम्बरमा प्रशोधित भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहेका हुन् ।
पहिलो चौमासिक अवधिमा आठ अर्ब ५३ करोड ६४ लाख मूल्यको ३८ हजार १८९ टन भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा पाँच अर्ब ४९ करोड ६३ लाख मूल्यको २६ हजार ८२४ टन प्रशोधित पाम तेलको निकासी भएको छ । निकासी भएका दस उत्कृष्ट वस्तुमा भटमास र पाम तेल क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका हुन् ।
भारतले गत असोजको अन्तिम सातामा समुद्रपारका मुलुकबाट पैठारी हुने कच्चा तेलको भन्सार महसुल २ तहले घटाएको थियो । त्यसपछि पनि नेपालका रिफाइनरीले प्रशोधित तेलको निर्यात गरिरहेका छन् । व्यवसायीहरूले पुरानो स्टकको कच्चा तेल भएको हुँदा भटमास, पाम र सूर्यमुखीको तेलको निर्यात भइरहेको बताएका छन् । उनीहरूले आगामी माघसम्म स्टकमा भएको वस्तु प्रशोधन गरेर निर्यात गरिने भए पनि त्यसपछि भारतको निर्णयको प्रभाव पर्ने दाबी गरेका छन् । अहिले तेलको कच्चा आयातका लागि उद्योगीले कुनै पहल नगरेको दाबी गरेका छन् ।
यसैगरी निर्यातको तेस्रो नम्बरमा जुटका उत्पादनहरू छन् । यस अवधिमा जुटका बुनिएका कपडा र जुटका बोरा गरी पाँच अर्ब ४८ करोड ६७ लाख मूल्यको निकासी गरिएको छ । कात्तिक मसान्तसम्ममा दुई अर्ब २६ करोड ७९ लाख रुपियाँको ४७ हजार २५१ टन सिन्थेटिक यार्न निर्यात भई चौथो नम्बरमा रहेका छ ।
त्यस्तै उनी, सुती र टेरिकटन बाहेकका अन्य कपडा ७८ करोड नौ लाख बराबरको ४७ करोड वर्ग मिटर, सूर्यमुखीको प्रशोधित तेल ४५ करोड ७६ लाख बराबरको दुई हजार ३२३ टन र ३५ करोड ९४ लाख बराबरको दुई हजार ३३९ टन चाउचाउ, नुडल्स तथा पास्ताको निकासी गरिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा २५ करोड ४९ लाख मूल्यको सात हजार तीन सय टन पिना, २० करोड मूल्य बराबरको दुई हजार ३६८ टन भटमासको पिना पनि निर्यात भएको छ । भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख सङ्कलन भएको हो ।
कार्यालयले भन्सार महसुलतर्फ सात अर्ब ८५ करोड ५३ लाखको लक्ष्यमा छ अर्ब १६ करोड ५१ लाख, मूल्य अभिवृद्धितर्फ छ अर्ब ७९ करोड ९९ लाखको लक्ष्यमा सात अर्ब २३ करोड ४९ लाख असुल गरेको । यस्तै अन्तः शुल्कतर्फ एक अर्ब ३० करोड १७ लाखको लक्ष्यमा एक अर्ब आठ करोड ९३ लाख असुली भएको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो । कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।