भोटराज राई
उदयपुर, मङ्सिर १६ गते । पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो ।
खोटाङ जिल्लाको यातायात सेवा पनि सोही ठाउँबाट सञ्चालन हुनेछ । काठमाडौंसम्मका रात्रिकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न ग्रामिण भेगका लागि दैनिक तीन दर्जन बढी सवारी साधन चल्ने गरेको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायव निरीक्षक लिला श्रेष्ठले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार हाल सो ठाउँमा निर्माण गरिएका सटरहरु टिकट काउन्टरका लागि प्रयोग गरिनेछन् । अपुग भएको खण्डमा नगरपालिकाले टिकट घर निर्माण गरिनेछन् ।
विशेषगरी सो वसपार्क पूर्वपश्चिम मदनभण्डारी राजमार्गसँगै जोडिएकाले सो राजमार्ग पूर्ण रुपमा सञ्चालन भएपछि पार्किङ तथा टिकट बुकिङका लागि सहज हुनेछ । पार्किङस्थल, गाडी धुने ठाउँ, यात्रु प्रतिक्षालय, चर्पी, बाथरुम जस्ता संरचनाहरु व्यवस्थित ढंगले निर्माण गरिने मेयर बलदेव चौधरीले बताउनुभयो ।
बसपार्कसँगै मेयर्स पार्क निर्माण गर्ने योजना छ । मेयर्सपार्कभित्र डिजिटल नगर सूचनाबोर्ड, पानीका फोहोरा, आरामदायी र मनोरम वातावरणसमेत निर्माण गरिने मेयर चौधरीले बताउनुभयो ।
सदरमुकाम गाईघाटमा सवारी साधनको चाँप र दुर्घटना न्यूनिकरणलाई मध्येनजर गर्दै नयाँ वसपार्क सञ्चालनमा ल्याएको हो । गाईघाटबाट लामो तथा छोटो दुरीका सयौं सवारी साधन सञ्चालनमा छन् । त्रियुगा पुल छेउको बसपार्कमा मात्र व्यवस्थापनमा चुनौती रहेकोमा नयाँ बसपार्क सञ्चालनमा आए पनि सहज भएको छ । “नयाँ वसपार्क सञ्चालनले सर्वसाधारण यात्रुलाई सहजता भएको छ” –त्रिनपा १३ का वडाध्यक्ष पशुपति चौधरीले भन्नुभयो ।
स्थानीय हेलन राईले बसपार्क सञ्चालनको माग बल्ल पूरा भएको बताउनुभयो । यसलाई थप व्यवस्थित बनाउन आफूहरुको सहयोग रहने उहाँले बताउनुभयो ।
बसपार्क सञ्चालनप्रति उत्साहित सवारी चालक तथा यातायात ब्यवसायीहरुले पार्किङ तथा गाडी धुने ठाउँ, खाना, खाजा खाने ठाउँको ब्यवस्थापनमा भने छिटो ध्यान पुर्याउन आग्रह गरेका छन् । यी कुराहरुको व्यवस्था भए मात्र यातायात सेवा प्रभावकारी हुने सुझाएका छन् ।