logo
२०८१ मंसिर १४ शुक्रवार



जीटुजीमार्फत मल खरिद गर्ने तयारी

अर्थ |


जीटुजीमार्फत मल खरिद गर्ने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार जीटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ ।
उहाँले भन्नुभयो, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ ।
बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि मन्त्रालयले अन्य देशसँग मल खरिद गर्ने पहल थालेको छ । बङ्गलादेश, चीन, ओमन, मोराकोलगायतका देशसँग सम्झौता गरेर मल ल्याउने पहल थालिएको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमार्फत ती देशलाई पत्रचार गरिएको छ तर हालसम्म जवाफ आइसकेको छैन ।

गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएर आएको थियो ।
भारतका केमिकल तथा फर्टिलाइजर मन्त्रालसँग छलफल गरी सबै कुरा टुङ्गो लगाएर आएको थियो । सोही छलफलको आधारमा पत्राचार भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा खपत हुने सम्पूर्ण रासायनिक मलको ३० प्रतिशत भारतबाट जीटुजीमार्फत खरिद गर्ने बाँकी बोलपत्र आह्वान गरेर खरिद गर्ने मन्त्रालयको तयारी रहेको छ ।

कृषि मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/२०७९ मा पाँच लाख मेट्रिक टन मल खरिद गर्ने तयारी गरेको छ । त्यसको आधारमा भारतबाट करिब डेढ लाख मेट्रिक टन मल खरिद गरिने मन्त्रालयले जनाएको छ । सम्झौता भएपछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने दुई देशबीच सहमति भएको मन्त्रालयले जनाएको छ ।
वार्षिक पाँचदेखि छ लाखसम्म रासायनिक मल खपत हुने गरेको छ । स्थानीय तह र प्रदेश सरकारले सङ्घीय सरकारलाई दिएको तथ्याङ्कअनुसार ११ देखि १२ लाख मेट्रिक टनसम्म मल खपत हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?