logo
२०८१ मंसिर १४ शुक्रवार



घरेलु तथा साना उद्योगमा आकर्षण बढ्यो

अर्थ |


घरेलु तथा साना उद्योगमा आकर्षण बढ्यो


लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर १९ गते । पछिल्लो समय लमजुङमा घरेलु तथा साना उद्योगप्रति नागरिकको आकर्षण बढेको छ ।
बर्सेनि घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा पाँच हजार १३९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म ४४४ वटा उद्योग दर्ता भएको छ । १५ लाख ८३ हजार ३७५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख शिक्षक वन्दना आचार्यले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै ९७० वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । उक्त वर्ष ४८ लाख ६१ हजार ३२५ रुपियाँ सङ्कलन भएको थियो । यस्तै २०७६/७७ मा ६६९ उद्योग दर्ता भएको थियो । राजस्व ५२ लाख ५१ हजार ३४० रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

२०७७/७८ मा कोभिड सङ्क्रमणका कारण उद्योग दर्तामा छुट दिएकाले पनि राजस्व आर्थिक वर्ष २०७६/७७ को भन्दा कम देखिएको कार्यालयले जनाएको छ । सरकारले अहिले पनि उद्योग दर्तामा छुट दिँदै आएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख तोषलाल भुसालका अनुसार पछिल्लो समय उद्योगप्रति नागरिकको आकर्षण बढेको छ । बर्सेनि उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दो छ । महिलाको नामबाट बढी मात्रामा दर्ता हुने गरेको छ । आधाभन्दा बढी महिला उद्यमी रहेको उहाँले बताउनुभयो ।

उद्योग दर्ता गर्ने क्रम बढेको र लगानी पनि बढ्दै गएको छ । जिल्लामा रोजगार सिर्जनाका लागि, स्थानीय उत्पादन प्रवद्र्धन गर्न घरेलु तथा साना उद्योगले ठूलो भूमिका खेलेको भुसालले बताउनुभयो । कार्यालयले उद्यम प्रवद्र्धनमा ध्यान दिएको र उद्यमीशीलतामा आकर्षित गराउने कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

तथ्याङ्क हेर्दा उद्यमी अझ बढ्ने सङ्केत देखिएको उहाँले बताउनुभयो । कार्यालयले सीप सिकाएर रोजगार सिर्जना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । महिला वा पुरुषको मागअनुसारको सीप प्रदान गर्दै आएको छ । विदेशबाट फर्किएका तथा रोजगार गुमाएकाका लागि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?