logo
२०८० चैत्र १५ बिहीवार

  कसरी बढाउन सकिन्छ विद्युत खपत ?  



कृषिमैत्री विद्युतीकरणसँगै विद्युत उपकरणमा अनुदान आवश्यक

अर्थ |


कृषिमैत्री विद्युतीकरणसँगै विद्युत उपकरणमा अनुदान आवश्यक


काठमाडौं, मङ्सिर १९ गते । नेपालमा वार्षिक रुपमा विद्युत उत्पादन बढ्दै गएपछि खपतलाई वृद्धि गर्नुपर्ने चुनौती थपिएको ऊर्जाविदले बताएका छन्। विद्युत खपत देशभित्रै हुँदा इन्धन र ग्यासलाई विस्थापित गर्न सकिने ऊर्जाविद् एवं पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले बताउनुभयो । इन्धनबाट चल्ने मोटरको सट्टा विद्युतीय मोटर प्रयोगमा प्रोत्साहन गरेर देशैभर सिंचाई गर्न सकिने उहाँको भनाइ छ । उत्पादनपछि बजारमा बिक्री नभएका तरकारी र अन्नलाई चिस्यान केन्द्र निर्माण गरेर भण्डारण गर्न सकिने उहाँको सुझाव छ ।

विद्युत खपतका धेरै उपायमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । किसानलाई आवश्यकताका आधारमा पूर्ण विद्युत आपूर्ति, स्थानीय सरकारले सानासाना औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणा राखेसँगै यी क्षेत्रमा कुटानी पिसानीलगायत काममा विद्युत प्रयोग हुँदा पूर्णरुपमा खपत गर्न सकिने विज्ञको भनाइ छ ।
विद्युत खपत बढाउनका निम्ति राज्यले ग्यासमा दिँदै आएको अनुदान तत्काल बन्द गरेर विद्युतमा अनुदान दिन सुरु गर्नुको विकल्प नभएको उपाध्यायले बताउनुभयो । विद्युत खपत गर्न सबै ग्राहकको क्षमता नपुग्ने हुँदा सहुलियत मूल्यमा विद्युत वितरणसँगै विद्युतीय सामग्री खरिदमा सरकारले अनुदान व्यवस्था समेत गर्नु आवश्यक रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले समेत विद्युत खपत बढाउनका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको प्रवक्ता सुरेशबहादुर भटट्राईले बताउनुभयो । वार्षिक कार्ययोजनामै समेटेर प्राधिकरणले उत्पादनसँगै खपतको दर वृद्धि गर्दै लाने योजना बनाएको उहाँले जानकारी दिनुभयो । विद्युत वितरण र आपूर्तिमा स्टेशन र वितरण लाइनको समस्या भएपछि प्रत्येक नेपालीले विद्युत प्रयोग गर्न अझै पाएका छैनन् । प्राधिकरणका अनुसार हाल ७४ जिल्लामा मात्र राष्ट्रिय प्रशारण लाइन पुगेको तर अझै ग्रामीण क्षेत्रमा विद्युत पुग्न सकेको छैन । हाल उत्पादित विद्युतमध्ये पाँच सय मेगावाट विद्युत खपत हुन नसकेको प्राधिकरणले जनाएको छ ।

विद्युत् वितरण प्रणालीको सुधारमा प्राधिकरणले ग्राहकलाई वितरण गर्दै आएको पाँच एम्पिएर मिटर हटाएर कम्तिमा १५ एम्पिएर भन्दामाथिको मिटर वितरण गरेपछि मात्र घरयासी प्रयोजनमा सबै उपकरण प्रयोग गर्न सक्ने ऊर्जाविद् उपाध्यायले सुझाव दिनुभयो । प्राधिकरणले भने पछिल्लो छ महिना यता मात्र सर्लाहीको नवलपुरमा १३२ केभी र कविलवस्तुको मोतिपुर १३२ सवस्टेशन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । १३२ केभीकै चिलिमे हव र त्रिशूली थ्रीवी हव निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रशारण लाइनमा विद्युत प्राधिकरणले प्रयास गरे पनि निर्माण अवरोध हुँदै आएको छ । विद्युत पोल गाड्न वर्षौ लाग्ने गरेको विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘विद्युतीकरणमा राज्यको हस्तक्षेत्र जरुरी छ’, उहाँले भन्नुभयो, ‘रुख नकाटी प्रशारण लाइन विस्तार हुन सक्दैन । तर रुख काट्न अवरोध हुन्छ ।’

विकास निर्माण जस्तो महत्वपूर्ण कामलाई अगाडि बढाउने निर्णय हुन १० वर्षसम्म लाग्नु हाम्रो दुर्भाग्य बनेको घिसिङले बताउनुभयो । रुख काट्नु पर्ने भएपछि निर्णय प्रक्रियामा वर्षौसम्म अल्मलिनुले विद्युत वितरणमा ढिलाई हुने गरेको प्राधिकरणले जनाएको छ । विभिन्न स्वार्थका कारण नेताहरुले समेत कार्यकर्ता उचालेर अवरोध गर्ने गरेको प्राधिकरणको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?