बुटवल समाचारदाता
बुटवल, मङ्सिर २० गते । प्रादेशिक योजना तथा बजेट तर्जुमा परियोजना बैङ्क र सम्भाव्य लगानीका क्षेत्र तथा तहगत समन्वय विषयक दुई दिने योजना सम्मेलन २०७८ सुरु भएको छ । राष्ट्रिय योजना आयोग र लुम्बिनी प्रदेश योजना आयोगको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको आइतबार बुटवलमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समयमै योजना सम्पन्न गर्न विभिन्न कानुनी बाधा आउने गरेको बताउँदै नीतिगत तहमै सुधार आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले नीतिगत रूपमा भएका कमीकमजोरीका कारण निर्धारित समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा छ गुणासम्म लागत बढ्ने गरेको भन्दै नीतिगत तहमै सुधार गर्नुपर्छ भन्नुभयो ।
मुख्यमन्त्री केसीले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति र सहकार्य गरेर अगाडि बढे मात्रै योजना सफल हुने भन्दै प्रदेश सरकार सहजीकरण गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आमनेपालीले त्यसबाट आशातीत लाभ लिन नसकेको भन्दै मुख्यमन्त्री केसीले एक अर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई नभएको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री केसीले भन्नुभयो, “हामीले बनाएका योजना किन सफल भएनन् भन्ने विषयमा समीक्षा गर्न जरुरी छ । कहाँ के कति कमीकमजोरी भएका छन्, त्यो विश्लेषण गर्नुपर्छ । ”
प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले, प्रदेश २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मालगायतले योजना सम्पन्न गर्ने विषयमा आइपर्ने अप्ठ्यारा सहजीकरण गर्न समीक्षा जरुरी रहेकामा जोड दिनुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगबाट निर्माण भएको एमटीईएफ, परियोजना बैङ्क र वित्तीय हस्तान्तरणसम्बन्धी विद्युतीय प्रणाली सबै प्रदेश योजना आयोगलाई हस्तान्तरण गरिएको थियो ।