logo
२०८१ बैशाख ८ शनिवार



दाबी नपरेको करिब आठ अर्ब रुपियाँ डोरम्याट खातामा, प्रयोगबारे अन्याेल

अर्थ |


दाबी नपरेको करिब  आठ अर्ब रुपियाँ डोरम्याट खातामा, प्रयोगबारे अन्याेल


काठमाडौं, मङ्सिर २० गते । मानिसले आफूले कमाएको पैसा जम्मा गर्न भरपर्दाे माध्यमको प्रयोग गर्दछन् । त्यही माध्यमको रुपमा बैङ्क तथा वित्तिय संस्थाहरु पर्दछन् । आफूले चाहेको बेला रकम जम्मा गर्न मिल्ने र निकाल्न मिल्ने भएकाले बैङ्किङ कारोबार सुरक्षित र भरपर्दो मानिन्छ ।

रकम जम्मा गर्न राष्ट्र बैङ्कको अधीनमा रही अन्य बैङ्कहरुले नियम बनाएका हुन्छन् । कतिपय ठाउँमा खाता खोलेकै एक हजार तिर्नुपर्छ भने कतै दुई हजार पाँच सयसम्म तिर्नुपर्छ । आफूले दुःखले कमाएको सम्पत्ति सुरक्षित होस् भन्ने चाहना कसको नहोला र ? यसरी खाता खोल्दा हकवालाको नाम राख्न बैङ्कहरुले अनुरोध नै गर्छन् । यसरी राखिएको रकम खातावालाको मृत्यु भएपछि हकवालाको हकमा आउँछ । तर, हकवालाको पनि मृत्यु भएपछि भने त्यो रकमका बारेमा अन्य सगोलका परिवारले चासो नराख्दा रकम थुप्रिएर बस्ने गरेको छ ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालका अनुसार सात अर्ब ९८ करोड रुपियाँ “डोरम्याट” खाता बापत सङ्कलन भएको छ । देशभरका बैङ्कहरुले उपलब्ध गराएको तथ्याङअनुसार उक्त रकम डोरम्याट खाताबापत सङ्कलन भएको उहाँको भनाइ छ । “डोरम्याट एकाउण्ट” कुनै खाता १० वर्षदेखि चल्ती भएको नदेखिएमा हुने अवस्था हो । तर, गोरखापत्र अनलाइनले अन्य बैङ्कहरुसँग यसबारेमा बुझ्न खोज्दा आफूहरुले भन्न नमिल्ने तर्क दिए । राष्ट्र बैङ्कका प्रवक्ता ढकालका अनुसार डोरम्याट एकाउण्ट बापतको रकम बैङ्कहरुले प्रयोग गर्न पाउँदैनन् ।

पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बैङ्कमा कुनै खाता खोलेको व्यक्तिले १० वर्षमा उक्त खाता प्रयोग गरेको नदेखिएमा यस्तो खाता डोरम्याट एकाउण्टको रुपमा जाने बताउनुभयो । तर, केही खाताहरु एक–डेढ वर्षमा प्रयोगमा नआएको देखिएमा डोरम्याट एकाउण्टको रुपमा जान सक्ने उहाँले बताउनुभयो । ‘कुनै–कुनै खाताहरु एक–डेढ वर्षमा पनि डोरम्याट एकाउण्टको रुपमा जान सक्छन्, मेरो आफ्नै पनि एउटा खाता डेढ वर्ष प्रयोगमा आएको थिएन, डोरम्याटमै गएछ । पछि त्यसलाई रिन्यू गरेँ,’ उहाँले भन्नुभयो । यस्ता खाताहरुमा ब्याज मात्र आउने तर प्रयोगमा आएनन् भने केहीँ निश्चित समयका लागि सरकारले सूचना निकालेर हकवालाको आह्वान गर्न सक्ने बताउनुभयो । यसरी सूचना निकाल्दा पनि कोही हकवाला व्यक्ति नआएमा सरकारले उक्त रकम चाहेको ठाउँमा प्रयोग गर्न सक्ने उहाँको भनाइ छ । डोरम्याट एकाउण्टबारे अन्तर्राष्ट्रिय देशहरुमा पनि रकमहरु जम्मा हुने र त्यसलाई सरकारले सही ठाउँमा प्रयोग गर्ने उहाँको भनाइ छ ।

डोरम्याट एकाउण्टबारे के छ प्रावधान ?
बैङ्क तथा वित्तीय संस्थाले दश वर्षदेखि चल्ती नभएको वा ऐन बमोजिम दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैङ्कमा पठाउनुपर्नेछ । उक्त रकम लिन आउने सूचना प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेछ । सोको विस्तृत विवरण बैङ्क वा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

उक्त एकाउण्टमा रहेको रकम बीस वर्षसम्म लिन वा बुझ्न नआएमा सो रकम राष्ट्र बैङ्कको बैङ्किङ विकास कोषमा जम्मा गरी बैङ्किङ विकासमा प्रयोग गरिने उल्लेख छ ।

डोरम्याट एकाउण्टमा कसको लाग्छ हकदाबी ?
बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप उपर सो निक्षेप राख्ने व्यक्ति बाहेक अरु कसैको हक दाबी लाग्ने नलाग्ने उल्लेख छ । तर, निक्षेप राख्ने व्यक्तिको मृत्यु भएमा निजले कसैलाई इच्छाएको भए त्यस्तो इच्छाइएको व्यक्तिको र त्यस्तो इच्छाएको व्यक्तिको पनि मृत्यु भएको रहेछ वा कसैलाई इच्छाएको रहेनछ भने व्यक्तिहरुमध्ये प्राथमिकता क्रम अनुसार जुन व्यक्ति जीवित छ सोही व्यक्तिको त्यस्तो निक्षेप उपर पहिलो हक दाबी लाग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?