logo
२०८१ मंसिर १४ शुक्रवार



अनलाइन प्रणालीले राजस्व बढायो

अर्थ |
प्रदेश |


अनलाइन प्रणालीले राजस्व बढायो


नारायण तुम्बापो
फिदिम, मङ्सिर २० गते । पाँचथरको मालपोत कार्यालयमा अनलाइन श्रेस्ताको व्यवस्था भएसँगै यसले राजस्व बढाएको छ । २०७४ असार १५ देखि अनलाइन लागु भएयता राजस्व चुहावट रोकिएसँगै राजश्व बृद्धि हुने क्रम बढेको हो ।

विगतमा चालीस प्रतिशत मात्र राजस्व सङ्कलन हुनेगरेकोमा अनलाइन पद्धतिबाट शतप्रतिशत जम्मा हुन थालेको जनाइएको छ । वर्तमानमा जग्गाको कारोबार धेरै घटे पनि राजस्व सङ्कलन दर स्थिर रहेको मालपोत प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो ।

करको दर पनि बढाएइको छैन । पूर्ववत् अवस्थामै कर दर कायम रहँदा पनि प्रत्येक आर्थिक वर्षमा राजस्व वृद्धि हुने क्रम बढ्दो छ । अनलाइन लागु हुनुपूर्व आर्थिक वर्ष २०७३–७४ मा १ करोड ६६ लाख ५३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । आव २०७४–७५ मा २ करोड १९ लाख ८१ हजार, २०७५–७६ मा २ करोड ५० लाख ७७ हजार सङ्कलन भएको बताइएको छ ।

त्यस्तै, २०७६–७७ मा २ करोड ७ लाख ११ हजार र २०७७–७८ मा ३ करोड ५८ लाख ९६ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । राजस्व वृद्धि हुनुमा अनलाइन प्रणालीको ठूलो सहयोग रहेको कार्यालयका पदाधिकारीहरुको बुझाइ छ । कर सङ्कलन प्रणालीलाई अनलाइनले पारदर्शी बनाएको कर्मचारीहरुको भनाइ छ ।

जग्गासम्बन्धी जुनै पनि कारोबार गर्दा सोअनुसार लाग्ने तोकिएको सेवा दस्तुर उल्लेख गरेपछि मात्रै अनलाइनले श्रेस्ता कायम गर्छ । जम्मा हुन आउने राजस्व सम्बन्धित कर्मचारीले दाखिला गर्नैपर्ने बाध्यता छ । यो व्यवस्थाले कर्मचारीले राजस्व हिनामिना गर्ने मौका पाउन छाडेका जनाइएको छ । त्यसैगरी सेवाग्राहीले सेवा लिएवापत जति दस्तुर तिरेको हो सोही बराबरकोे अनलाइनले जारी गर्ने भर्पाई पाउने गरेका छन् ।

अनलाइन श्रेष्ता प्रणालीले राजस्व चुहावट रोक्नुका साथै विभिन्न तरिकाले हुनेगरेको भ्रष्टाचार निरुत्साहित गरिरहेको कर्मचारीहरुको भनाइ छ । दृष्टि बन्धक, राजीनामा, अंशबण्डा, छोडपत्र, अंश भर्पाई, दर्ता फारी लगायतका सेवावापत मालपोतमा राजस्व लिइने गरेको छ ।

आधा ढड्डा र आधा अनलाइन प्रणालीबाट दैनिक कारोबार हुनेगरेको छ । अनलाइन व्यवस्थाले कुनै पनि सेवाग्राहीले मालपोतलाई तिर्नुपर्ने लाभकर छल्न, लुकाउन पनि नदिने गरेको छ । यसैगरी हदबन्दी जग्गा पनि पत्ता लाग्ने गरेको जनाइएको छ । त्यस्तै स्रेस्तामा राखिएका सेवाग्राहीको अनुहारको फोटो, औंठाछाप जस्ता जैविक विवरण अनलाइनले प्रमाणीकरण गरेपछि मात्रै कारोबारका लागि आधिकारिकता प्रदान गर्नेगरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?