logo
२०८० चैत्र १६ शुक्रवार



जहाँ दृष्टिविहीनले डोहो-याउँदै खुवाउँछन्

अर्थ |


जहाँ दृष्टिविहीनले डोहो-याउँदै खुवाउँछन्


विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर २३ गते । अँध्यारो कोठा, बीचमा केही टेबल अनि कुर्सी । साथमा दृष्टिविहीन व्यक्तिको सहारा । अब कल्पना गर्नुहोस्, यस्तो ठाउँमा बसेर तपाईं खाना खाँदै हुनुहुन्छ, त्यो पनि नेपाली स्वादको ।
यो हो ‘अ फाइन डाइन इन’ रेष्टुराँको दृष्य ।

ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित यो रेष्टुराँमा तपाईंको प्रवेश हुनासाथ दृष्टिविहीन कर्मचारीले स्वागत गर्नुहुन्छ । रेष्टुराँमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी तपाईंलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर तपाईंलाई त्यही अन्धकार कोठामा लगिन्छ । जहाँ तपाईंलाई लगेकै कर्मचारीले टेबलमा बस्न सहयोग पु-याउनुहुन्छ । तपाईंलाई कुनै अप्ठ्यारो परे सघाउनुहुन्छ ।

फरक किसिमको व्यवसाय गर्ने हुटहुटी बोकेको चार जना युवा समूहको यो सोचले आजदेखि मूर्तरूप पाउँदै छ । अर्थात् बिहीबार यसको औपचारिक उद्घाटन हुँदै छ । त्यसो त रेष्टुराँमा नयाँ शैली प्रयोग गर्ने प्रचलन आजकल बढ्दो छ । तर, विश्वमै अत्यन्त कम र सबैभन्दा फरक शैली मानिएको यस किसिमको रेष्टुराँमा नेपालमै पहिलो पटक सुरु हुन लागेको रेष्टुराँका अध्यक्ष सुरेश महर्जनको दाबी छ । उहाँका अनुसार एसियामा दुवई र भारतको हैदरावादमा मात्र यस किसिमको रेष्टुराँ सञ्चालनमा छ ।

‘डाइनिङ् इन द डार्क रुम’ नाम दिइएको यो नयाँ शैली प्रयोग गर्नुका पछाडि रेष्टुराँ सञ्चालकको उद्देश्य भने अलि फरक छ । कोभिड सङ्क्रमणका कारण धेरैको रोजगारी गुमेपछि यो युवा समूहलाई दृष्टिविहीनको चिन्ता लाग्यो । ‘सबैले जागिर गुमाइरहँदा दृष्टिविहीनको अवस्था झन् कमजोर भएको अनुभव हामीलाई भयो’ अध्यक्ष महर्जन भन्नुहुन्छ, “त्यसपछि उहाँहरूलाई रोजगारी दिनकै लागि यो नयाँ सोचअनुसार काम गरेका हौँ । ”

हाल दस जना दृष्टिविहीनले यहाँ रोजगारी पाएका छन् । उनीहरूलाई तीन महिनाको तालिम पनि दिइएको छ । सञ्चालकले निवेदन माग गर्दा ४० जनाले निवेदन दिएकाले बाँकीलाई विस्तार गरिने शाखाहरूमा रोजगारी दिने योजना सञ्चालकको छ ।

दृष्टिविहीनले बाँचिरहेको जीवनको अनुभव गराउन पनि यो प्रयोग सफल हुने उहाँको विश्वास छ । अँध्यारोमा बसेर खानु आफैँमा फरक अनुभव पनि हो, सँगै यसले आँखा खुला हुँदा पनि अँध्यारो मात्रै देखिने परिस्थितिलाई पनि साक्षात्कार गराउँछ, उहाँले भन्नुभयो ।

रेष्टुराँमा तपाईंले आफूले खाइरहेको खाना पनि सहजै पहिचान भने गर्न सक्नुहुन्न । आफैँले के खाइरहेको छु भन्ने उत्सुकता जगाउन पनि खाना छनोटको विकल्प नराखिएको महर्जनले जानकारी दिनुभयो ।
सुरुमा बुकिङ गरेर मात्र प्रवेश गर्न सकिने यो रेष्टुराँमा तपाईंले रातो, नीलो अथवा हरियो नाममा मात्र खाना मगाउन सक्नुहुन्छ । अँध्यारोमा खाँदा कुनै समस्या नहोस् भनेर त्यस्तै किसिमको खाना छनोट गरिएको र साना–साना आकारमा मात्र परिकार बनाइने पनि उहाँले बताउनुभयो ।

डेढ करोड रुपियाँ लगानीमा सञ्चालनमा आउन लागेको यो रेष्टुराँको विस्तारको योजना सञ्चालकको छ । कोपुन्डोलपछि काठमाडौँको दरबारमार्ग र पोखरामा यसको शाखा खोल्ने योजना पनि बनिरहेको छ । व्यवसायका रूपमा शाखा विस्तारभन्दा पनि यो समूह आफ्नो प्रयोगको खबर गाउँगाउँ पु-याउन चाहन्छ ताकि गाउँमा दृष्टिविहीन प्नि यो खबरले खुसी होऊन् । आफ्नो क्षमताप्रति गर्व गरून् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?