शैलेन्द्र रोकाया
बझाङ, मङ्सिर २४ गते । बझाङ जिल्ला आलुमा आत्मनिर्भर हुने भएको छ । गएको वर्षायाममा राम्रो उत्पादन भएको र हिउँदयाममा समेत आलु खेतीलाई प्राथमिकता दिइएकाले यस वर्ष बझाङ आलुमा आत्मनिर्भरको बाटोमा अग्रसार भएको हो । बझाङमा तरकारी र बीउका लागि बर्सेनि झन्डै डेढ करोड रुपियाँ बराबरको आयात हुने गरेको थियो ।
आलु खेतीका लागि उपयुक्त वातावरण भएकाले बझाङमा यस वर्ष सरकारले पनि लगानी बढाइरहेको छ । परम्परागत तरिकाले आलु खेती गरिरहेका यहाँका किसानलाई कृषि ज्ञान केन्द्रले आलु लगाउने तरिका, मलखाद व्यवस्थापन, औषधि उपचारका उपाय र उत्पादित आलुलाई बजारीकरण गर्नसमेत सहयोग गरेकाले आलु खेतीतर्फ कृषकको थप आकर्षण बढेको छ । बझाङको कुल आलु आयातको ७० प्रतिशत यसै वर्ष रोकेर जिल्लालाई आलुमा आत्मनिर्भर बनाउने योजना बनाइएको हो । गएको वर्षायाममा मात्र बुगल नगरपालिकाबाट स्थानीय बजारमा बिक्री गरेर झन्डै ६०० क्विन्टल आलु कैलालीस्थित कोल्ड स्टोरमा राखिएको थियो । हिउँदे आलुका लागि कृषि ज्ञान केन्द्र बझाङ र आलु जोन कार्यक्रमको सहकार्यमा जिल्लाका सातवटा स्थानीय तहका ३१ ठाउँमा ७५० क्विन्टल बीउ लगाइएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिनुभयो ।
हिउँदेयामको आलुबाट मात्र सात हजार क्विन्टल आलु उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “अहिले हिउँदे आलु बित्थडचिर गाउँपालिकादेखि सेती नदीको तटीय क्षेत्र तल्कोट गाउँपालिकाको भाट गाउँसम्म लगाएको भए पनि अब वर्षायामको आलु जिल्लाको लेकाली भेगमा लक्षित गरेर लगाउने योजना बनाएका छौँ । ” यस वर्ष किसानलाई प्रतिकेजी २० रुपियाँ अनुदानमा बीउ दिनुका साथै आलु खेती गर्ने तरिकामा समेत परिवर्तन गरिएको छ । परम्परागत रूपमा मङ्सिरमा आलु लगाउने गरेका यहाँका किसानले यस वर्ष भने भदौमा आलु लगाएर माघको पहिलो हप्तामा निकाल्ने गरेर खेती गरिरहेका छन् ।
तल्कोट गाउँपालिका–१ का किसान खडक कुँवरले अहिले कृषि प्राविधिकको निगरानीमा भदौमा आलु लगाएर मलखाद, औषधि उपचार, समयमै सिँचाइलगायतका कुरामा ध्यान दिँदा आलुको बोट पनि राम्रो भएको र उत्पादनसमेत राम्रो हुने आशा गरेको बताउनुभयो । यस वर्ष मात्र बीउका लागि बझाङमा झन्डै ५० लाख रुपियाँको आलु आयात भएको छ । जिल्लामा प्रत्यक्ष रूपमा झन्डै ३१ वटा ठाउँका झन्डै तीन हजार किसान आलु खेतीमा लागेका छन् ।