logo
२०८० चैत्र १६ शुक्रवार



चिनीको मूल्यवृद्धि अस्वाभाविक !

अर्थ |


चिनीको मूल्यवृद्धि अस्वाभाविक !


सीता शर्मा

काठमाडौँ, मङ्सिर २४ गते । चार/पाँच महिनायता चिनीको भाउ अस्वाभाविक रूपमा वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै साउनयता क्रमशः बढ्दै अहिले चिनी प्रतिकेजी १०० रुपियाँमा किनबेच भइरहेको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार असारसम्म प्रतिकेजी चिनीको मूल्य ७५ रुपियाँमा कारोबार भएको चिनी अहिले प्रतिकेजी एक सय रुपियाँ पुगेको छ । बढी चिनी खपत हुने दशैँ, तिहारमा बरु चिनीको भाउ ८५/ ९० रुपियाँभन्दा माथि गएको थिएन ।
सङ्घका कार्यवाहक अध्यक्ष अमुल तुलाधरले साल्ट ट्रेडिङ कर्पोरेसनमा भन्सार छुटको चिनी सीमित भएसँगै चिनी उद्योगले चिनीको भाउ मनोमानी तरिकाले वृद्धि गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले चिनीको भाउ बढ्नुको मुख्य कारण सरकारले साल्ट ट्रेडिङलाई भन्सार छुटको चिनी खरिदको अनुमति नदिँदाको परिणाम हो । ”

साल्ट ट्रेडिङले चालू आर्थिक वर्षका लागि ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति माग गरेको थियो तर सरकारले पर्याप्त चिनी आइसकेको भन्दै भन्सार छुटको चिनी खरिद गर्ने अनुमति दिएन । अघिल्लो आर्थिक वर्ष सरकारले २० हजार मेट्रिक टन चिनी खरिद गर्ने अनुमति दिएको थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले कर्मचारी र चिनी उद्योगीको मिलेमतोमा साल्ट ट्रेडिङ कर्पोरेसनलाई भन्सार छुटको चिनी खरिद गर्ने अनुमति नदिएर मूल्य बढाउन सहयोग गरिएको आरोप लगाउनुभयो ।
सरकारको बजार अनुगमन साना खुद्रा पसलको अनुगमन गर्ने र राजस्व सङ्कलनमा बढी केन्द्रित भएको अर्का उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताउनुभयो ।
बजारको माग, आपूर्तिको अवस्था हेर्नेदेखि बजारमा उपभोग्य वस्तुको मूल्य र गुणस्तरको अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चिनीको हालको मूल्य अस्वाभाविक नभएको बताउँदै
आएको छ ।

विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले चिनीको मूल्यको विषयमा थोक र खुद्रामा अनुगमन गर्दा मूल्य स्वाभाविक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चिनीको मूल्य बढ्नुमा ‘सप्लाई चेन’मा केही गडबड छ कि भन्ने आशङ्का छ । त्यो पनि हामी एक÷दुई दिनमै अनुगमन गर्ने तयारीमा छौँ । ”

साल्ट ट्रेडिङमा ७९ रुपियाँमा चिनी साल्ट ट्रेडिङ कर्पोरेसनले भने आफ्ना बिक्री केन्द्रबाट अहिले पनि चिनी प्रतिकेजी ७९ रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ । कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले कर्पोरेसनमा हाल डेढ सय मेट्रिक टनको हारहारीमा मात्रै चिनी मौज्दात रहेकाले बिक्री केन्द्रबाट प्रतिव्यक्ति दुई केजीका दरले उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
राजभण्डारीले कर्पारेसनसँग चिनीको मौज्दात सकिन थालेकाले चिनीको मूल्य नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?