logo
२०८१ मंसिर १४ शुक्रवार



तरकारीको थोक मूल्य घट्यो, खुद्रा घटेन

अर्थ |


तरकारीको थोक मूल्य घट्यो, खुद्रा घटेन


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मङ्सिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ३० रुपियाँमा झरेको छ । यस्तै मूला, बन्दा, फर्सी, सागलगायतका तरकारी सस्तिएका छन् ।
कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गर्नुभएका सानेपा घर बताउने विकास तुलाधरले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गर्नुभयो । “काउली प्रतिकेजी १०० रुपियाँमा किन्नुपर्छ तर कालीमाटीमा त १०० रुपियाँमा एक धार्नी आयो । रायो, चम्सुर, पालुङ्गोको साग त्यतिकै सस्तो रहेछ,” उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्यअन्तर हेर्दा पनि आधाभन्दा बढी अन्तर भएको पाएको अनुुभव तरकारी किन्दै गर्नुभएका रमेश थपलियाले सुनाउनुभयो ।
कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो १५ दिनयता मौसमी तरकारीको भाउ आधा घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजारमा पर्याप्त तरकारी भित्रिएकाले थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको छ । ”
कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुुभयो । उहाँका अनुसार हाल दैनिक औसतमा ८०० मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ ।

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज, गोलभेँडा, कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ । समितिका प्रवक्ता श्रेष्ठले गोलभेँडाबाहेकका अधिकांश तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?