logo
२०८१ मंसिर १४ शुक्रवार



पहिलो त्रैमासिकमा कृषि मन्त्रालयको खर्च सोह्र प्रतिशत

अर्थ |


पहिलो त्रैमासिकमा कृषि मन्त्रालयको खर्च सोह्र प्रतिशत



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन महिनामा झन्डै १६ प्रतिशत खर्च गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको पहिलो त्रैमासिक (साउन, भदौ र असोज)को प्रगति विवरणअनुसार विकास कार्यक्रमअन्तर्गत १२.५१ प्रतिशत र साधारण कार्यक्रमअन्तर्गत ४३.८५ प्रतिशत खर्च भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले पुँजीगत खर्चतर्फ सार्वजनिक निर्माणका कार्यक्रम टेन्डर प्रक्रियामा रहेका कारण वित्तीय प्रगति कम देखिएको बताउनुभयो । दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा विकास खर्च बढ्न नसकेको उहाँले दाबी गर्नुभयो ।

मन्त्रालयका अनुसार कृषि अनुसन्धान कार्यक्रम र राष्ट्रिय दुग्ध विकास बोर्डले ८० प्रतिशतभन्दा बढी वित्तीय प्रगति गरेका छन् । कृषि अनुसन्धान कार्यक्रमले ९१.७२ प्रतिशत र बोर्डले ८२.९७ प्रतिशत वित्तीय प्रगति गरेका छन् ।

विशेष कृषि उत्पादन कार्यक्रमको भारित प्रगति ९९.९८ प्रतिशत रहे पनि वित्तीय प्रगति शून्य रहेको मन्त्रालयले जनाएको छ । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको भारित प्रगति ०.१७ प्रतिशत रहेको छ भने वित्तीय प्रगति पनि ०.३३ प्रतिशत रहेको छ ।

कृषि मन्त्रालयअन्तर्गत ०.२२ प्रतिशत मात्र बेरुजु फस्र्योट भएको छ । त्यसमा सरकारी निकायतर्फ ०.०१ प्रतिशत फस्र्योट भएको छ । सरकारी निकायतर्फ पाँच अर्ब ९७ करोड ४६ लाख २१ हजार बेरुजु रहेको छ भने फस्र्योट चार लाख ९१ हजार मात्र भएको मन्त्रालयले जनाएको छ ।

यो तीन महिनामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनमार्फत जम्मा ३८.५ हजार मेट्रिक टन रासायनिक मल (युरिया) आयात गरेका छन् ।
उखु किसानलाई दिइने ८४ करोड रुपियाँ अनुदान रकममध्ये ७८ करोड नौ लाख ६१ हजार रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पठाइसकेको र त्यसमध्ये ५७ करोड ५७ लाख ४३ हजार रुपियाँ भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?