logo
२०८१ मंसिर १४ शुक्रवार



मतदान स्थलमा सुरक्षा सतर्कता

अर्थ |


मतदान स्थलमा सुरक्षा सतर्कता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनको सुरक्षा व्यवस्थापन तथा निगरानी महेन्द्र पुलिस क्लबभित्र रहेको ‘संयुक्त सुरक्षा कमान्ड पोस्ट’बाट हुने गरेको छ ।
महाधिवेशन स्थल क्षेत्र भृकुटीमण्डप तथा प्रदर्शनी मार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि त्यहाँ सञ्चालित गतिविधिको उच्च निगरानी तथा निर्देशन कमान्ड पोस्टबाट हुने गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौैैँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले महाधिवेशन स्थल परिसरमा जडान गरिएका ३२ वटा सीसी क्यामराबाट सम्पूर्ण गतिविधिमाथि निगरानी राख्ने गरिएको बताउनुभयो ।

पद्मोदयमोडदेखि राष्ट्रिय सभा गृह रत्नपार्कसम्मको प्रदर्शनी मार्गमा उम्मेदवारको प्रचारप्रसारमा निस्कने झाँकी, नारा, जुलुस तथा प्रदर्शनलाई पनि सीसी क्यामराबाट नै निगरानी राख्ने गरिएको छ । शनिबारको तुलनामा आइतबार सो क्षेत्रमा भीड बढेपछि भृकुटीमण्डपभित्र प्रवेशमा रोक लगाइएको छ । समूहगत प्रचारप्रसारसँगै एकले अर्काे समूहलाई अवरोध गर्ने जस्ता गतिविधि हुन नदिन थप सतर्कता अपनाइएको जानकारी उहाँले दिनुभयो ।

विशेषगरी उम्मेदवारद्वारा गरिने प्रचारप्रसारका काममा शनिबार प्रधानमन्त्री देउवा र डा. शेखर कोइराला समूहका कार्यकर्ताबीच ठेलमठेल भएको थियो । प्रहरीले महेन्द्र पुलिस क्लबदेखि राष्ट्रिय सभा गृहसम्मको सडकभित्र भड्किलो प्रचारप्रसारमा पनि रोक लगाइएको छ ।
केन्द्रीय कार्यसमितिको विभिन्न पदका उम्मेदवारको प्रचारप्रसारका लागि सातै प्रदेशमा प्रचलित लोकनृत्य तथा झाँकीहरू, पञ्चेबाजा, धिमे नाचलगायत प्रस्तुत गरिने गरिएका छन् । सोमबार बिहान ८ बजेबाट निर्वाचन सुरु हुने भएकाले झाँकीसहितको प्रचारप्रसारमा पनि निषेध गरी प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राखिएको छ । सडकमा छरपस्ट पर्चा तथा पम्पलेटहरू सफा गर्न थालिएको छ ।

महाधिवेशनका लागि जारी निर्वाचन आचारसंहिताले पनि मतदान स्थलको पाँच सय मिटर क्षेत्रमा कुनै किसिमको पर्चा पम्पलेट, तुल ब्यानरलगायत सामग्री राख्न रोक लगाएको छ । मतदान स्थलमा सुरक्षा व्यवस्था बलियो बनाइएको र महाधिवेशन प्रतिनिधिबाहेक अन्यको प्रवेश पूर्ण निषेध गरिएको जानकारी प्रहरीले दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?