जुम्ला समाचारदाता
जुम्ला, मङ्सिर २९ गते । ज्येष्ठ नागरिक हुँदा धेरैजसो घरपरिवार तथा छोराछोरीको भरमा पर्छन् । तर, जुम्लाको एक ज्येष्ठ नागरिक दम्पती वर्षौंदेखि चिया पसलबाट आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।
चन्दननाथ नगरपालिका–२ निवासी ६७ वर्षीय काशीराम भण्डारी र उहाँकी ६५ वर्षीया श्रीमती देवीकन्या भण्डारीले चिया बेचेर आफ्नो जीवन निर्वाह गरिरहनुभएको छ । जुम्लाको तापक्रम माइनस डिग्रीमा होस् वा गर्मीमा भण्डारी चिया पसलमा चिया खानेको भीड नै हुन्छ । चन्दननाथ मन्दिरको पछाडि मन्दिरको टहरा भाडामा लिएर वर्षाैंदेखि चिया बेचेर आफू र आफ्नो घरपरिवार पाल्न सक्षम हुनुभएको छ ।
झिसमिसेमा ग्राहक आइहाल्छन् । मीठो चिया खुवाउने जिम्मेवारी बढेको ज्येष्ठ नागरिक काशीराम भण्डारीले भन्नुभयो । उहाँले दैनिक ६० लिटर बढी दूधको चिया बिक्री गर्ने गरेको जानकारी दिनुभयो । दैनिक सरदर पाँच सय कप चिया बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले चिया बेचेको कमाइले एउटा स्याउ बगैँचा स्थापना गरेको बताउँदै स्याउबाट बर्सेनि एकदेखि डेढ लाख रुपियाँ आम्दानी गरेको भण्डारीले बताउनुभयो । आम्दानी भएको रकमले ज्येष्ठ नागरिक दम्पतीले उल्टै घरपरिवारलाई सहयोग गर्नुभएको छ । उहाँले बूढाबूढीले रमाई–रमाई काम गरिरहेको बताउनुभयो । देवीकन्याले पाखुरा हुँदासम्म काम गर्दा आफैँलाई सम्मान मिलेको अनुभव सुनाउनुभयो ।