logo
२०८२ भाद्र ४ बुधवार



नवलपुरमा धान खेती : क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

अर्थ |


नवलपुरमा धान खेती : क्षेत्रफल घट्यो, उत्पादन बढ्यो


नवलपुर, मङ्सिर २९ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिनुभयो । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५७० मेट्रिक टन उत्पादन भएको लामिछानेले बताउनुभयो ।

“नवलपुरमा गतवर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ । तर, जमिनको उत्पादकत्व भने बढेको देखियो”, उहाँले भन्नुभयो, “धान लगाउने बेलामा समयमै पानी पर्नु, प्राङ्गारिक मलको प्रवर्धन हुनु, माटोको गुणमा सुधार आउनुलगायत कारणले यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।” जिल्लाको धानखेती गरिएको कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको लामिछानेको भनाइ छ । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धान खेतीमा सिँचाइ हुने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धानखेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताउनुभयो । “यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “त्यस्तै, बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।” केन्द्रले व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई विभिन्न अनुदान प्रदान गर्दै आएका कारण पनि यहाँका कृषक धान उत्पादन छोडेर तरकारी खेतीतर्फ आकर्षित हुन लागेका लामिछानेले बताउनुभयो ।

मुख्यगरी जिल्लाको दक्षिणी भागमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । “जिल्लाको कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धानखेती राम्रो हुने गरेको छ”, प्रमुख लामिछानेले भन्नुभयो, “पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ ।” नवलपुर धानमा आत्मनिर्भर भएको उल्लेख गर्दै उहाँले खपत भएर यहाँ बढी भएको धान अन्य जिल्लामा निर्यात गर्ने गरेको बताउनुभयो ।

नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णसङ्कर जातका धान उत्पादन हुने गरेको छ । “यहाँ किसानले बढी लगाउने धान भनेको सावित्री र सावा मन्सुली नै हो”, प्रमुख लामिछानेले भन्नुभयो, “केही किसानले वर्णसङ्कर जातका धान लगाउन थालेका छन्, रैथाने धानको खेती भने विस्तारै हराउँदै गएको छ ।” जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धानखेती हुँदै आएको प्रमुख लामिछानेले बताउनुभयो । “यहाँ खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धानखेती हुन सकेको छैन”, उहाँले भन्नुभयो, “धानबाहेक यहाँ मकै, व्यवसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेका छन् ।”

जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धानखेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?