शिवशंङ्कर मिश्र
बारा, मंङ्सिर २९ गते । जिल्ला प्रहरी कार्यालय बारामा पछिल्लो केही वर्षयता चेक बाउन्स मुद्दाको चाप बढेको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको तथ्यांङ्कअनुसार, चालु आर्थिक वर्षको चार महिनामा २४ वटा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाकोअनुसार प्रहरीमा दर्ता हुने मुद्दामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै हुनेगरेको बताउनुभयो । बर्सेनी यस्तो अपराधमा उजुरी आउनेक्रम बढदैगएको बताउँदै कपाली तमसुकको आधारमा भएको लेनदेनको मुद्दा फैसला हुन ढिलाई हुने तर चेकमार्फत लेनदेन गरेको मुद्दाको टुङ्गो छिटै लाग्दा पीडितहरु चेक बाउन्स गराएर प्रहरीकोमा आउनेक्रम बढेको जानकारी दिनुभयो ।
सुरुमा चेक बाउन्सका उजुरी लिएर आउनेहरु झट्ट हेर्दा पीडितजस्तो देखिए पनि पछि छानबिन गर्दै जाँदा उनीहरु नै पीडक हुनेगरेको धेरै घटना रहेको बताउनुभयो । जग्गा कारोबारी र मिटर व्याजीहरुले यसरी चेकको दुरुपयोग बढी गर्नेगरेको पाइएको अनुसन्धानकोक्रममा खुलेको जानकारी दिनुभयो ।
कतिपयले आप्mनो साँवाभन्दा दोब्बर बढी रकमको चेक ऋणीबाट लिने गरेको पाइएको पनि उहाँको भनाई छ । यस्ता मुद्दामा पीडितलाई झन पीडा थपिने हुँदा सजगता अपनाएर मात्र मुद्दामा जाने गरेको उहाँले बताउनुभयो ।
बैंकिङ्क कसुर मुद्दा दर्ता भए आरोपितउपर पक्राउपुर्जी जारी हुने र त्यसपछि ४५ दिनसम्म थुनामा राखी कारबाही प्रक्रिया अघि बढने कानुनी प्रावधान रहेको उहाँले बताउनुभयो । आरोपित फेला नपरेमा ६ महिनाभित्र अदालतमा मुद्दा पेस गरिनेगरेको उहाँले जानकारी दिनुभयो । मुद्दा सिधै उच्च अदालतमा पेस गर्ने गरिएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।
प्रहरीमा यस्ता मुद्दा लिएर आउनेलाई सोझै अदालतमै मुद्दा दर्ता गर्न जान परामर्श दिने गरिएको छ । अदालतमा मुद्दा दर्ता गरिए त्यहाँ देवानी मुद्दाको रुपमा प्रक्रिया अघि बढने उहाँले बताउनुभयो । मेलमिलाप, मुद्दा फिर्ता हुने सम्भावना बढी हुने तर प्रहरीमार्फत गएमा मुद्दा फौजदारी अपराधको रुपमा दर्ता हुने कानुनी प्रावधान रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला न्यायाधिवक्ता कार्यालयले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुबै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था रहेको छ । अहिले बारामा लेनदेनमा विवाद हुँदा चेक बाउन्सका मुद्दाहरु अधिक रुपमा जिल्ला प्रहरी कार्यालयमा पुग्ने गरेको सो कार्यालयको भनाई छ ।