logo
२०८१ मंसिर १४ शुक्रवार



निर्यात १० प्रतिशत आयात ६१ प्रतिशत बढ्यो

अर्थ |


निर्यात १० प्रतिशत आयात ६१ प्रतिशत बढ्यो


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्ब १२ करोड रुपियाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारततर्फ १४०.२ प्रतिशत र चीनतर्फ ७.३ प्रतिशतले निर्यात बढेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २३.५ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो तथ्याङ्कले पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ । चिया, अलैँची, तार, जस्तापाता, तामाको तारलगायतका वस्तुको निर्यात भने घटेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई छ खर्ब ५० अर्ब २९ करोड रुपियाँ पुगेको छ । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो ।
चार महिनामा निर्यात आयात व्यापार घाटा आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो ।

घाटामा शोधनान्तर स्थिति
अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा १९ अर्ब एक करोड रुपियाँले बचतमा चालू खाता समीक्षा अवधिमा दुई खर्ब २३ अर्ब १९ करोड रुपियाँले घाटामा छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ८८ करोडले घाटामा्र रहेको छ ।
विदेशी विनिमय सञ्चिति कमि
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिमा कमी आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आएर कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपियाँ कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।

अन्तरिक निक्षेप र कर्जामा बढ्यो
अघिल्लो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा ४.४ प्रतिशतले बढेको आन्तरिक कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा ५.७ प्रतिशतले बढेको छ । बैङ्क वित्तीय क्षेत्रमा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैङ्कका अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ४.९ प्रतिशतले मात्र बढेको थियो ।

घट्यो विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई तीन खर्ब १२ अर्ब ४२ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई दुई अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ९६ हजार ३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९५.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.९ प्रतिशतले घटेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?