माला कर्ण/ललिता साह
सप्तरी, पुस १ गते । सप्तरीमा मलखादको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् ।
कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँगाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ । डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान भने खाली हात फर्किनुपरेको स्थानीय किसान रामदेव मण्डलले बताउनुभयो । डिलरले किसानलाई मल नदिएर महँगो मूल्यमा बेच्ने गरेको र भारतीय सीमामा नेपालको मल पाइने गरेको उहाँले बताउनुभयो ।
कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले स्थानीय तहको सिफारिसमा मल दिँदै आएको जानकारी दिनुभयो । सरकारको निर्देशनअनुसार डिलरलाई नै मल दिनुपर्ने बाध्यता रहेकाले सोझै किसानलाई दिन नसकिने उहाँको भनाइ छ । सो कार्यालयका अनुसार सप्तरीमा पहिलो र दोस्रो खेपमा कार्यालयमा उपलब्ध भएको मल वितरण गरिएको छ । तेस्रो खेपको मल वितरण सुरु भएको छ तर अझै मागअनुसार आपूर्ति गर्न सक्ने अवस्था नरहेको जनाइएको छ ।
तेस्रो खेपमा छ हजार ७५० बोरा युरिया र छ हजार १९२ बोरा डीएपी मल वितरण गर्नुपर्ने भएकाले प्रत्येक स्थानीय तहलाई ३७५ बोरा युरिया र ३४४ बोरा डीएपी मल उपलब्ध गराउने तयारी छ । हाल गहुँ खेतीको समयमा ७५३ मेट्रिक टन युरिया र ३८७.६ मेट्रिक टन डीएपी वितरण गरिएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार ८१ हजार ६६८ हेक्टर अर्थात् कुल भूभागको ६४ प्रतिशत खेतीयोग्य जमिन छ । कृषिका लागि निकै उर्वर मानिने सप्तरीमा केही वर्षदेखि बीउ, मल अभाव, सिँचाइको उपयुक्त प्रबन्ध नहुनु, बदलिँदो परिवेशमा कृषकमा आवश्यक कृषि ज्ञान र औजारको अभावलगायतका समस्याले कृषिक्षेत्रको उत्पादकत्व घट्दै गएको छ ।
किसानलाई मलखाद वितरणको जिम्मेवारी पाएका सप्तरीका डिलरको बदमासीका कारण किसानले मलखाद पाउन नसकेको बताइएको छ । राजविराज–११ का रामकिसुन यादवले भन्नुभयो, “मेरो वडामा चारवटा डिलर छन् तर सबै डिलरवालाले बीच बाटोबाटै मल महँगोमा बिक्री गरेर किसानलाई भने छैन भनेर फर्काउने गरेका छन् । ”
जिल्लाका ६०० भन्दा बढी सहकारीले मल वितरणको डिलर लिएका छन् तर तिनीहरूले दुई हजार २८१ रुपियाँमा किनेको एक बोरा मल तीनदेखि चार हजार रुपियाँसम्ममा तोकिएको क्षेत्रभन्दा बाहिर बेचिरहेको किसानको आरोप छ ।