सुजल श्रेष्ठ
प्युठान, पुस ३ गते । माहुरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुनेमा स्थानीयले माहुरीपालनलाई व्यवसायिकता दिन थालेका छन् । परम्परागत रुपमा मुढे घारमा माहुरी पाल्दै आएका स्थानीयले सामुहिक रुपमा व्यावसायिक माहुरीपालनको शुरुवात गरेका हुन्।
फुलवारी स्वाभलम्वन समूहका अध्यक्ष खिमा पुनले पहिलेदेखि गर्दै आएको माहुरीपालनलाई व्यवसायिक रुपमा अघि बढाउन समूह गठन गरी काम थालेको बताउनुभयो । “२० जना सदस्य मिलेर माहुरीपालन गरेका हौँ,” पुनले भन्नुभयो,“एक सय वटा आधुनिक घार माहुरी पालेका छौँ।” सेरेना जातको माहुरी आधुनिक घारमा पालिएको उहाँले बताउनुभयो ।
माहुरी पालनका लागि समूहका सदस्यले तालिम समेत लिएका छन् । ३ दिने तालिम लिएको समूहका सदस्य मसला पुनले बताउनुभयो । माहुरीको हेरचाह समूहका सबै सदस्यले पालैपालो गर्ने गर्दछन् । यो सिजनको मह काटेर समूहले बेच्दै आएको छ । चिउरीलगायत फुल फुल्ने रुखविरुवा र जंगल नजिकै भएकाले जावुनेमा माहुरी पालनको राम्रो सम्भावना रहेको छ ।
प्रायः प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । माहुरीका लागि आवश्यक पर्ने चिउरी प्रशस्त मात्रामा पाइने भएकाले माहुरीपालनको सम्भावना राम्रो रहेको स्थानीय प्रेम पुनले बताउनुभयो बताउनुभयो । “गाउँमा सबैको घरमा माहुरीपालन गरिएका घारहरू छन्,” उहाँले भन्नुभयो,“व्यवसायिक रुपमा अघि बढाउन समूहले काम थालेको छ ।”