logo
२०८१ मंसिर १४ शुक्रवार

   एलसी खोल्न आनाकानी   



बैङ्कले लगानी नगर्दा वस्तु उत्पादन र आयात–निर्यात नै प्रभावित हुने स्थिति सिर्जना भयो :उद्योगी

अर्थ |


बैङ्कले लगानी नगर्दा वस्तु उत्पादन र आयात–निर्यात नै प्रभावित हुने स्थिति सिर्जना भयो :उद्योगी


नवराज कट्टेल

विराटनगर, पुस ५ गते । तरलताको अभाव देखाउँदै वाणिज्य बैङ्कले नयाँ लगानी गर्न आनाकानी गरिरहेको विराटनगरका उद्योगीले गुनासो गरेका छन् । बैङ्कले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चा पदार्थको अभाव हुने स्थिति आएको उनीहरूले बताएका छन् ।

बैङ्कले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटनगरका उद्योगीले वस्तु उत्पादन र आयात–निर्यात नै प्रभावित हुने स्थिति सिर्जना भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ, प्रदेश १ को कार्यालय विराटनगरमा उद्योगीहरूले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर बैङ्कप्रति असन्तुष्टि जनाएका छन् ।

बैङ्कले एलसी खोल्न गएका उद्योगीसँग लगानीपूर्व नै डिपोजिट गर्नुपर्ने सर्त राख्ने गरेको उद्योगीको दाबी छ । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष उद्योगी पवन सारडाले बैङ्कका कारण वस्तु आयातमा समस्या भइरहेको जानकारी दिनुभयो । “बैङ्कमा एलसी खोल्न जाँदा पहिले डिपोजिट गर्नुपर्ने सर्त राखिन्छ । बैङ्कले उद्योगीलाई झुलाउन थालेपछि औद्योगिक क्षेत्र सुस्ताउने स्थिति आइसकेको छ,” उद्योगी सारडाले भन्नुभयो ।

पछिल्लो समय बैङ्कका कारण अन्तर्राष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छविसमेत धुमिलिएको उद्योगी सारडाको भनाइ छ । “बैङ्कमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि पाँच करोड रुपियाँ पहिले नै जम्मा गर्नुपर्ने सर्त राखिरहेका छन् । पाँच करोड भए कर्जा माग्दै जानुपर्दथ्यो ?” उद्योगी सारडाले गुनासो गर्नुभयो ।

चालू आर्थिक वर्षको पाँच महिनामा ७ प्रतिशत मात्रै पुँजीगत खर्च हुँदा त्यसको असर उद्योगलाई परिरहेको उद्योगीले तर्क गरेका छन् । त्यसमाथि बैङ्कले लगानी गर्न नमान्दा औद्योगिक क्षेत्रमा समस्या भित्रिएको उनीहरूले जानकारी दिएका हुन् ।
नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष एवं उत्सव फुटवेयरका सञ्चालक देवेन्द्र गुप्ताले पछिल्लो दुई महिनायता बैङ्कका कारण एलसी खोल्न नसकेको बताउनुभयो ।

उहाँले कच्चा पदार्थ अभाव भएर उद्योगबाट मजदुर बिदा गर्नुपर्ने स्थिति आइसक्दासमेत बैङ्कले एलसी खोल्न अस्वीकार गर्दै आएको जानकारी दिनुभयो । कर्जा प्रवाहमा समेत १ प्रतिशतभन्दा कम प्रिमियम लिनुपर्ने प्रावधानविपरीत उद्योगी हेरेर ३.५ प्रतिशतसम्म असुल्ने गरेको गुप्ताको भनाइ छ । निक्षेप बढाउन पुँजीगत सुधार र पुँजीगत खर्च बढाउनुपर्ने भए पनि ब्याजदर वृद्धि गरिएको नेपाल उद्योग परिसङ्घका अध्यक्ष भीम घिमिरेले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले बैङ्क पुराना साहुमहाजनजस्तो भएको आरोप लगाउँदै नेपाल राष्ट्र बैङ्कले नियमन र नियन्त्रण नगरे औद्योगिक क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

उहाँले बैङ्क सञ्चालक र लगानीकर्ता एकै व्यक्ति हुने प्रावधानलाई तोड्न सरकारले नीति ल्याउनुपर्ने माग राख्नुभयो । उद्योग घाटामा गए बैङ्कको नाफाबाट चल्ने उद्योगीले उत्पादनको क्षेत्रमा लगानी अङ्कुश लगाएर देशको अर्थतन्त्रलाई धराशायी बनाउन लागिपरेको अध्यक्ष घिमिरेको धारणा थियो ।

वैदेशिक व्यापार पैठारीका लागि लामो समयसम्म बैङ्कले एलसी खोल्न आनाकानी गरे कच्चा पदार्थ अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ । यदि उद्योग बन्द भए भने रोजगारी, राजस्व, वितरण प्रणाली एकैपटक अवरुद्ध हुँदै उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्य बढ्नसक्ने जाजुले चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा उद्योगी जाजुले बैङ्कले राष्ट्र बैङ्कबाट पैसा नलिनुको कारण तरलता बढाएर ब्याजदरमा बार्गेनिङ गर्ने मनसाय राखेको आरोप लगाउनुभयो । त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले समयमै सचेततापूर्वक नियमन र नियन्त्रण गर्नुपर्ने उद्योगी जाजुको सुझाव छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?