logo
२०८१ बैशाख १४ शुक्रवार



इजरायलमा सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारसँग सम्झौता गदैँ

अर्थ |


इजरायलमा सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारसँग सम्झौता गदैँ


सीता शर्मा

काठमाडौँ, पुस ५ गते । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारलाई पाँच दिनभित्र करार सम्झौता गर्न आग्रह गरेको छ । विभागले सूचना सार्वजनिक गर्दै छनोट भएका उम्मेदवारलाई करार सम्झौताका लागि व्यावसायिक तथा सीप विकास प्रतिष्ठान, भैँसेपाटीमा आउन आग्रह गरेको हो । विभागका अनुसार अहिलेसम्म ५९६ जनाको रोजगार सम्झौतामा हस्ताक्षर भएर आएसकेको छ, तीमध्ये २२९ जनाको सम्झौता भइरहेको छ भने बाँकीको धमाधम हुने क्रममा रहेको विभागले जनाएको छ ।

निर्देशक एवं इजरायल शाखाका प्रमुख डम्बर सुनुवारले इजरायलबाट रोजगार सम्झौतामा हस्ताक्षर भएर आएका अहिले धमाधम हस्ताक्षर गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इजरायलबाट करार सम्झौता भएर आएजतिका सबैको करार सम्झौता गरेका छौँ । इजरायलबाट ६०९ जनाको रोजगार सम्झौतामा हस्ताक्षर भएर आउन बाँकी छ, आउनेबित्तिकै गर्छौं, हामीले रोक्दैनौँ । ”

विभागले इजरायल जानका लागि करार सम्झौता भएका उम्मेदवारको भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावाससँग सहजीकरणका लागि अनुरोध गरिने जनाएको छ । उहाँहरूको भिसा आएपछि मात्रै अभिमुखीकरण तालिमको व्यवस्था गरिने विभागले जनाएको छ ।

निर्देशक सुनुवारले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा प्रक्रियाको काम केही दिन सुरु गर्ने गरिने जानकारी दिनुभयो ।
विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका व्यक्तिको नामावली अद्यावधिक गर्ने काम गरिरहेको छ । यसैगरी खोप लगाउन बाँकी रहेका व्यक्तिको खोप व्यवस्थापनका लागि समेत विभागले सहजीकरणको काम गरिरहेको छ ।
विभागका अनुसार रोजगार सम्झौताका लागि इजरायलको पिवामा चार चरणमा पठाएको नामावलीका आधार श्रमिक पक्षको हस्ताक्षरका लागि नामावली आइसकेको छ ।

विभागले कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी रहेको विभागले जनाएको छ । इजरायलको पिवाले छनोट गरेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये पहिलो चरणमा क्रम सङ्ख्याका आधारमा ३५० महिला र १५० पुरुषको नामावली इजरायल पठाइएको थियो । बाँकी ६७५ जनाको नामावली दोसो चरणमा पठाइएको थियो ।

विभागले इजरायल जाने नेपालीले मासिक एक हजार ६०० अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार एक लाख ९० हजार रुपियाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ ।
एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, राहदानी, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषसहित एक लाख ६५ हजार ७०० रुपियाँ शुल्क लाग्ने विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?