चितवन समाचारदाता
चितवन, पुस ६ गते । जमिन खण्डीकरण र अन्य बालीको चापले घट्दै गएको चितवनमा तोरीखेती विस्तार हुन थालेको छ । केराखेती, कुखुरापालन, घडेरी, बाँझै छाड्नेलगायतका कारण तोरीखेतीको क्षेत्रफल घट्दै गएको थियो तर अहिले तोरीको बजार भाउ र तोरीको तेलको माग बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । अन्य खेतीभन्दा सजिलो भएकाले पनि तोरी लगाउन किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । चार वर्षयता तोरीखेतीको क्षेत्रफल वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष कम्तीमा एक हेक्टरभन्दा धेरै क्षेत्रफलमा खेती विस्तार भएको छ ।
बजारमा गुणस्तरीय तेलको अभाव हुनु, तोरीको मूल्य राम्रो पाइनु, दुःख कम हुनु र उत्पादन बढ्दै जानुजस्ता कारणले चितवनका किसान तोरीखेतीमा आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो ।
उहाँका अनुसार विशेषगरी माडी नगरपालिका र पूर्वी चितवनका चारवटा नगरपालिकामा तोरीको क्षेत्रफल यस वर्ष धेरै बढेको छ । केही किसान तरकारीलगायतका खेती छोडेर तोरी लगाइरहेका छन् । अधिकांश किसान खानका लागि तोरी उत्पादन गरिरहेका छन् ।
यस वर्ष मौसमले समेत तोरीखेतीलाई साथ दिएको कृषि ज्ञान केन्द्रको भनाइ छ ।
ज्ञान केन्द्रका अनुसार धानलाई मौसमले साथ दिएन, उत्पादन घट्यो । तोरीलाई मौसमले साथ दिएको देखिन्छ । यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । विगतका वर्षमा रोगले सताएपछि चितवनका किसानले तोरी लगाउन छोडेका थिए । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष जिल्लामा झन्डै १३ हजार २६० हेक्टरमा तोरी लगाइएको छ । गत आर्थिक वर्ष जिल्लामा १२ हजार ४०० हेक्टरमा तोरी खेती गरिएकामा १२ हजार २१८ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
चितवनमा तोरीको ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । महँगो मूल्य हालेर पनि गुणस्तरीय तेल नपाइएकाले किसान तोरी खेतीमा आकर्षित भएको ज्ञान केन्द्रका सूचना अधिकारी पुनले बताउनुभयो ।
यो वर्ष तोरीको उत्पादन बढ्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार एक हेक्टरमा एक हजार मेट्रिक टन तोरी उत्पादन हुनेछ । तोरी बालीलाई ‘लाइ’ रोगले बढी सताउँछ, केही वर्षदेखि तोरीमा ‘लाइ’ देखिएको छैन । तोरीखेतीमा नाम कमाएको चितवनमा आव २०५२/५३ सालबाट रोगका कारण तोरीको उत्पादन कम हुँदै गएपछि तोरी लगाउने क्षेत्रफलसमेत घट्दै गएको थियो ।