जिवछ यादव
लाहान, पुस ७ गते । लाहान–१ सिङ्गराहीमा नवनिर्मित बसपार्क सञ्चालनको लागि मुख्य चोकमा रहेका बस काउन्टरहरु बसपार्कबाटै सञ्चालन गर्नपुर्ने आवाज उठ्न थालेको छ ।
पुस १ गतेदेखि बस सञ्चालनको लागि गरेको सहमति अनुसार सबै काउन्टरहरु नियमित रुपमा बसपार्कमा नआँउदा पार्क सुचारु हुन सकेको छैन । बस व्यवसायी सङ्घ, लाहान नगरपालिका, टेम्पु व्यवसायी सङ्घ सबैले पुस १ गतेदेखि बसपार्क सञ्चालनमा ल्याउने निर्णय गरेको लाहान नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालका अनुसार बसपार्क सञ्चालनको लागि पटक पटक निर्णय हुने तर कार्यान्वयनमा नहुने समस्या देखिँदै आएपछि पुस १ गतेबाट सबै सबारी साधनहरु बसपार्कबाटै सञ्चालन गर्ने निर्णय भएको हो । लाहानको मुख्य चोकमा बस तथा अन्य सवारी साधनहरु रोक्दा सरसफाइ व्यवस्थित हुन नसकेको,टाढाका यात्रुहरु ओर्लिने वा वस चढने बेला दिसा पिसाव गर्न समेत समस्या देखिएपछि बसपार्क पायक पर्ने ठाँउमा पार्क निर्माण गरिएको हो ।
बसपार्क सत्तचालनको लागि बस काउन्टरहरु नियमित रुपमा पार्कबाट सञ्चालन नहुँदा जतिपटक निर्णय गरे पनि कार्यान्वयनमा आउन नसकिने बस पार्कमा पसल थपेर बसेको पसले रमेश कुमार साहले बताउनुभयो । उहाँको अनुसार यात्रुहरुलाई चोकमा बस चढ्दा वा ओर्लिंदा दिसापिसाब गर्ने कुनै सुविधा नहुँदा बसपार्क निर्माणको लागि चर्को आवाज उठिएको छ । यस आवाजलाई लाहान नगरपालिकाले ध्यानमा राखेर लहान नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर सुविधासम्पन्न पार्क सञ्चालनमा नआउने प्रमुख कारण नै बस काउन्टर सञ्चालकहरु र बस व्यवसायी सङ्घ लहानको असहयोग रहेको छ ।
लाहान नगरपालिकामा पछिल्लो चरणमा विकास निर्माणको कार्यहरुमा सहयोग गरेर जनप्रतिनिधिहरुको हौसला बढाउनुपर्नेमा ठीक विपरीत बसपार्क सञ्चालन, नयाँ बजार निर्माण, फोहोरबाट मोहोर परियोजना र मसानघाट निर्माणमा समेत तगारो खडा हुनुले हाम्रो लाहान, समृद्ध लाहानको नारा कार्यान्वयनमा सृजना गरेको नागरिक समाजका अगुवा नेनीलाल रामले बताउनुभयो ।
लाहानको बसपार्क सञ्चालन लगायत अन्य विकासको कार्यहरुमा रोकिएको तगारो हटाउन प्रहरी प्रशासन र राजनीतिक दलहरुको सक्रियता बढ्नुपर्ने शिक्षक विदुर भट्टराइको भनाइ रहेको छ ।
फोहोरबाट मोहर ८ करोडको परियोजना, मसानघाट दुई करोड र नयाँ बजार निर्माण १३ करोडको परियोजना र बस पार्क सञ्चालनको लागि पटक पटक स्थानीयहरुसँग सहमति गरिए पनि सञ्चालनमा आउन सकेको छैन ।
पुस १ गतेदेखि बसपार्क सञ्चालनमा ल्याउने निर्णय कायान्वयन नहुँदा बसपार्क सुनसान
तस्बीरः जिवछ यादव ÷ लाहान