logo
२०८१ मंसिर १३ बिहीवार



उद्योगलाई डेढ सय मेगावाट लोड स्वीकृत

अर्थ |


उद्योगलाई डेढ सय मेगावाट लोड स्वीकृत


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई थप १५०.५ मेगावाट लोड स्वीकृत गरेको छ । त्यसबाहेक थप १११ मेगावाट लोड दिने गरी अध्ययनसमेत सम्पन्न गरेको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा पिक डिमान्ड दुई हजार मेगावाट पु-याउने लक्ष्यका साथ प्राधिकरण उद्योगमा आपूर्ति विस्तारमा सक्रिय बनेको हो ।

साउनदेखि कात्तिक मसान्तसम्ममा १० वटा उद्योगमा लोड स्वीकृत गरिसकेको छ भने सात उद्योगका लागि ग्रिड प्रभाव अध्ययन (जीआईएस) सम्पन्न गरेकोे छ । यसबाहेक थप पाँच उद्योगमा करिब १०० मेगावाट थप्न जीआईएस प्रक्रियासमेत सुरु गरिसकेको प्राधिकरणले जनाएको छ ।

जीआईएसमार्फत उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले मागबमोजिम विद्युत् उपलब्ध गराउन सकिने/नसकिने अवस्थाको निक्र्योल गरिन्छ । जीआईएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता गरी विद्युत् आपूर्ति गरिन्छ ।

ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि यस्तो अध्ययन अनिवार्य हुन्छ । नियमअनुसार गर्नुपर्ने जीआईएसलाई व्यवस्थित र शीघ्र गर्न प्राधिकरणले समयसीमासहितको प्रक्रिया लागू गरेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्राधिकरण विद्युत् खपत विस्तारको दबाबमा परेको हो । गत वर्षात्मा मात्र ५०० मेगावाटसम्म विद्युत् खेर फाल्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको थियो ।

लोड स्वीकृत, जीआईएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टिल र सिमेन्ट उद्योग छन् ।
लोड स्वीकृत भइसकेकामा सबैभन्दा धेरै नवलपरासीमा रहेको होङ्सी सिमेन्टमा ६० मेगावाट, धादिङमा रहेको हुवासिन सिमेन्टमा २५ मेगावाट, स्वस्तिक रोलिङ मिल्समा १२ मेगावाटलगायत छन् । त्यस्तै जीआईएस भइसकेका उद्योगमा प्रिमियर स्टिल्समा ३२ मेगावाट, जगदम्बा स्टिल्समा २८.२ मेगावाट, हुलास वायरमा १५ मेगावाटलगायत सात उद्योग छन् । त्यस्तै घोराही सिमेन्टलाई ३० मेगावाट, सर्वोत्तम स्टिल्सलाई २५ मेगावाट, लक्ष्मी स्टिल्सलाई २५ मेगावाट विद्युत् उपलब्ध गराउन जीआईएस अध्ययन जारी रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत् सेवा उपलब्ध गराउन सयमसीमासहितको प्रक्रिया निर्धारण गरिएको घिसिङले बताउनुभयो ।

घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताउनुभयो । अहिलेको माग देशमा उत्पादित विद्युत् यहीँ भित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो । “औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै उत्साहजनक रूपले लोडको माग बढिरहेको छ । लोड स्वीकृत भएका कतिपय उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत् दिनेगरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?