सिराज खान
नेपालगञ्ज, पुस ९ गते । अम्बे समूहले एक अर्ब २५ करोड रुपियाँको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउने भएको छ । आउँदो दुई महिनाभित्र बाँकेको जानकी गाउँपालिकाको गनापुरमा सो उद्योग सञ्चालन गर्नेगरी तयारी भएको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले जानकारी दिनुभयो । सो समूहले दुई वर्षअघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो ।
१६ बिघामा फैलिएको जयअम्बे स्टिल उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जानकारी दिँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो । दैनिक ७५० टन बिलेट उत्पादन हुने सो उद्योगले जनाएको छ । उद्योगभित्र २५ टनका तीनवटा युनिट हुनेछन् । सुरुमा उत्पादन भएको बिलेट आफ्नै उद्योगमा प्रयोग गरिनेछ । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनको भन्सार शून्यमा झार्दै बिलेट आयातको अन्तःशुल्क बढाएको थियो । यो सरकारी नीतिपछि उद्योगबाट उत्पादित बिलेट बिक्रीसमेत गर्ने उहाँले जानकारी दिनुभयो ।
हाल सञ्चालनमा रहेको अम्बे समूहको छड उद्योगले आठ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गरिरहेको छ । उद्योगका अनुसार ४० एमएमको छड जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वाधार निर्माणको काममा
प्रयोग हुन्छन् ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजारलाई लक्षित गरेर बाँकेमा सो छड उद्योग सञ्चालनमा ल्याइएको हो । अम्बे समूहको यो दोस्रो छड उद्योग हो । भैरहवाबाट यसअघि नै अम्बे ब्रान्डका छडहरू उत्पादन भएर बिक्री हुँदै आएको छ ।