logo
२०८० चैत्र १६ शुक्रवार

   चुलियो आयात   



पाँच महिनामै आठ खर्ब ३८ अर्ब बाहिरियो

अर्थ |


पाँच महिनामै आठ खर्ब ३८ अर्ब बाहिरियो


विश्वास रेग्मी

काठमाडौँ, पुस ९ गते । अर्थतन्त्रका महत्त्वपूर्ण सूचक कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामै आयात चुलिएको छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको र शोधनान्तर घाटामा रहेर चाप बेहोरिरहेको आयातबापत छोटो समयमै ठूलो रकम बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आयातका लागि आठ खर्ब ३८ अर्ब रुपियाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तीन खर्ब रुपियाँभन्दा बढी हो । गत मङ्सिरमा नेपालले पाँच खर्ब २५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

यसबीचमा नेपालले निर्यातबापत एक खर्ब तीन अर्ब रुपियाँ बराबरको आम्दानी गरेको छ । पाँच महिनामै एक खर्ब रुपियाँभन्दा बढीको आयात गरेको यो पहिलो पटक हो । यो अघिल्लो आर्थिक वर्षको मङ्सिरभन्दा यस पटक ५३ अर्ब रुपियाँले बढी हुन आउँछ । अघिल्लो मङ्सिरसम्म नेपालले ५० अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो ।

आयातित भटमास र पामको प्रशोधन गरेर निर्यात बढेको हुनाले कुल निर्यातमा नेपालको खुद आम्दानी भने निकै कम छ । नेपालले मङ्सिरसम्म ५७ अर्ब रुपियाँभन्दा बढीको भटमास तेल र पाम तेल निर्यात गरेको छ । आयात बढ्दा देशको व्यापार घाटा झन् गहिरिएको छ । पाँच महिनामै नेपालले अन्तर्राष्ट्रिय व्यापारमा सात खर्ब ३५ अर्ब रुपियाँ घाटा बेहोरेको छ । यो अघिल्लो वर्षको मङ्सिरको तुलनामा दुई खर्ब ६० अर्ब रुपियाँले बढी हो ।
आयात बढाउने मुख्य वस्तु डिजेल बनेको छ । समीक्षा अवधिमा ४९ अर्ब रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ३३ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल आयात भएको छ । जब कि नेपालले ३० अर्ब ५५ करोड रुपियाँको मात्र भटमास तेल निर्यात गरेको छ ।

बढी आयात भएका वस्तुको तेस्रो स्थानमा कच्चा पाम तेल छ, जुन २४ अर्ब ६१ करोड रुपियाँको आयात भएको तथ्याङ्कले देखाउँछ । अघिल्ला महिनामा अत्यधिक आयात हुने सूचीको दोस्रो स्थानमा रहने पेट्रोल मङ्सिरसम्म चौथो स्थानमा छ, जुन २४ अर्ब १० करोड रुपियाँको आयात भएको छ । त्यसपछि २३ अर्ब ११ करोड रुपियाँ एलपी ग्यास र २२ अर्ब ९७ करोडको मोबाइल आयात भएको छ ।

निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन र पाम तेलपछि गलैँचा रहेको छ, जुन तीन अर्ब ७३ करोड रुपियाँको निर्यात भएको छ । त्यसपछि दुई अर्ब ६५ करोड रुपियाँको ऊनीका कपडा, दुई अर्ब २८ करोड रुपियाँको सूर्यमुखी तेल निर्यात भएको छ । आयात अत्यधिक बढेपछि नेपाल राष्ट्र बैङ्कले हालै मात्र केही वस्तुको आयातमा कडाइ गरेको छ । कतिपय वस्तुको आयातमा भने ५० प्रतिशत नगद आवश्यक पर्ने प्रावधान राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?