चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङमा गरिएको व्यक्तिगत चियाखेतीबाट चिया उत्पादन सुरु भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका– १० फुरुम्बुको गढीडाँडामा रहेको चियाखेतीबाट उत्पादन सुरु भएको हो ।
जिल्लामै पहिलो पटक फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका किसान वेदनिधि पौडेलले आफ्नो व्यक्तिगत लगानीमा व्यवसायिक चियाखेती सुरु गर्नुभयो । पौडेलले करिब ६५ रोपनी क्षेत्रफल बराबरको आफ्नो निजी जग्गामा चियाखेती शुरु गर्नुभएको छ । पाँच वर्षअघि लगाएको चियाखेतीबाट यस वर्षदेखि उत्पादन सुरु भएको पौडेलले जानकारी दिनुभयो ।
चियाबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर व्यावसायिक खेती थालेको र उत्पादन सुरु भएपछि आफूलाई खुशी लागेको पौडेलले बताउनुभयो । सुरुमा नै माटो परीक्षण गरेर चियाको बिरुवा लगाएका कारण बोट राम्रै फस्टाउँदै गरेको र सोहीअनुसार उत्पादन पनि राम्रै हुने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, पर्यटनको पनि राम्रो सम्भावना रहेको हुँदा चिया बगान बिस्तार गरी गढीडाँडा क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य राखेर चियाखेती सुरु गरेको पौडेलले बताउनुभयो । चिया बगान क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकेमा यसबाट आम्दानी लिन सकिने उहाँको बुझाइ छ । यसरी आफ्नो योजनालाई सफल बनाउन निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।