अमरराज नहर्की
तनहुँ, पुस ९ गते । सो आयोजनाले हाल २५ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि नै १४० मेगावाट विद्यूत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो ।
आयोजनाको ड्यामदेखि विद्युत गृहसम्मको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ । आयोजनाबाट उत्पादित विद्यूतत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म आठ टावर निर्माण सम्पन्न गरिएका छन् ।
कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छवटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ ।
त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।
प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको घिमिरेले बताउनुभयो । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ ।
आयोजनाले तीनवटै प्याकेजका कामलाई तीव्रता दिइरहेको छ । प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेज–१ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माणलगायत पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरूले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङसम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।
सुरुङ निर्माणको काम ५६ प्रतिशत पूरा
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । सोअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम चलिरहेको छ । सुरुङ निर्माणको ५६ प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ ।
सिनो हाइड्रोले हालसम्म पाँचवटा सुरुङको काम सकेको छ । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार ४०० मिटर लामो सुरुङको काम शुरु गरिएको आयोजना प्रमुख घिमिरे बताउनहुन्छ ।
५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधिन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।
क्षति न्यून
यसैवीच, जाइका अध्ययन टोलीले प्राविधिक तथा आर्थिक दृष्टिले अत्यन्तै उपयुक्त साथै प्राकृतिक, सामाजिक, आर्थिक र साँस्कृतिक वातावरणमा कम प्रभाव पार्ने योजनाका रुपमा तनहुँ जलविद्युत आयोजनालाई लिएको छ ।
यो आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने बताइएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विधुत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभावहरु पर्ने भए तापनि अन्य जलविधुत आयोजनाका तुलनामा यसको प्रभाव कम रहेको आयोजनाले जनाएको छ ।
तथापी आयोजनाको जलाशय क्षेत्रले व्यास नगरपालिका का साथै अन्य स्थानीय तहहरु रिसिङ, म्याग्दे, र भिमादमा पर्ने ६ सय ३३ हेक्टर भूमि डुवानमा पर्नेछ । जसमध्ये १ सय ५१ हेक्टर खेतीयोग्य भूमि , २ हेक्टर जमिन घर बसोबास भएको क्षेत्र, र बाँकी जमिन जंगल र पर्ती क्षेत्रहरु छन् ।
त्यसैगरि तनहुँ जलविद्युत आयोजनाका कारण ७ वटा झोलुङ्गे पुल, ग्रामीण बाटोहरु, सिँचाई कुलो, मोटरेवल पुल, कजवे, र विधुत वितरण लाइनहरु पनि प्रभावित हुनेछन् । त्यस्तै आयोजना निर्माणका क्रममा ७५८ जग्गाधनी घरपरिवारबाट जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ जसवाट चार हजार २५७ जना व्यक्तिहरु प्रत्यक्ष प्रभावित हुनेछन् । त्यस क्रममा ८६ घरपरिवारलाई अन्यन्त्र ठाउँमा स्थानान्तरण गर्नुपर्ने आयोजनाको विस्तृत अध्ययनमा उल्लेख छ ।
कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुत्त आयोजना भएकाले नेपाल सरकारले प्राथमिकता दिएको आयोजनालाई काम तिब्र रुपमा भईरहेको हो ।
सुख्यायाम भारतबाट विद्युत आयात गर्नु पर्ने समस्या हटाउन सरकारले यस आयोजनालाई प्राथमिकता दिएको आयोजनाले दिएको छ । वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ ।
आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विद्युत गृहमा पु-याएर विद्युत उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
भारतबाट विद्युत आयात घटाउन नेपाल सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढाइरहेको छ । आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खा याममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने हुँदा यस आयोजनको ठुलो महत्व रहेको बताउनुभयो ।