बाबुराम देवकोटा
कुसुमटार (सिन्धुली), पुस ११ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणमा संलग्न मजदुरहरुले थप सेवा सुविधा माग गर्दै आन्दोलनमा उत्रेपछि काम ठप्प भएको छ । कमलामाई नगरपालिका– २ कुसुमटारमा दुई महिनाभन्दा बढी समयदेखि सो सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) को कार्यालय, कर्मचारीको आवास गृह लगायतको भौतिक पुर्वाधार निर्माणको काम भइरहेको छ । सो पुर्वाधार निर्माणमा संलग्न मजदुरले जिल्ला दररेट अनुसारको पारिश्रमिक र अन्य सुविधा माग गर्दै काम रोकेर आन्दोलनमा उत्रिएको स्थानीयको भनाई छ ।
आयोजनमा डेढ महिनादेखि मिस्त्री (दक्ष कामदार) को रुपमा काम गर्दै आउनुभएका कमलामाई नगरपालिका– १ निवासी पप्पु भुजेलले यो बर्षको जिल्ला दररेटअनुसार मिस्त्रीको दैनिक आठ घण्टा काम गर्दा ज्याला एक हजार रुपियाँ रहेपनि सो अनुसारको रकम प्राप्त नभएको बताउनुभयो । आफुले ७३५ रुपियाँ मात्र पाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, ‘जिल्ला दररेटअनुसारका ज्याला र अन्य सेवा सुविधा मागगरी शनिबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रेका छौं । माग पुरा नभएसम्म काम रोकेर आन्दोलनमा रहन्छौंं ।’
दररेटअनुसार दैनिक आठ घण्टा काम गरेबापत एक जना कामदारको ज्याला ७६५ रुपियाँ र मिस्त्रीको एक हजार रुपियाँ रहेको उहाँले बताउनुभयो । आयोजनामा अहिले मजदुर (लेबर) ११० जना, मिस्त्री ५० जना, मेकानिकल आठ जना, अपरेटर २० जना, वेल्डर सात जना, दोभासे चार जना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० जना मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङले जनाएको छ ।
सुनकोशी मरिण डाइभर्सनमा काम गर्दैआएका एक जना लेबरले अहिले दैनिक ८ घण्टा काम गरेबापत सुख्खा ५८० रुपियाँ र मिस्त्रीले सात सय ३५ रुपियाँका दरले पाउँदैआएको अर्का मजदुर सरोज बिकले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला दररेटअनुसार पनि ज्याला नपाएपछि परिवार पाल्न नपुग्ने भयो । हामीलाई दररेटभन्दा कम पैसा दिएको छ ।’
मजदुरलाई आयोजनाले दिएको तलब सेवा सुविधा अत्यन्तै न्यून रहेकाले तलबले आफू तथा परिवार धान्न कठिन भएको मजदुरहरुको भनाई छ । आन्दोलित मजदुरहरूले शनिवार आयोजनाको निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै, शनिबार काम गरेको पनि ओभरटाइममा जोडिनुपर्ने, चाडपर्व, सरकारी विदाको ओभर टाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नर्मल हाजिरी हुनुपर्नेलगायतको माग मजदुरले गरेका छन् ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले भने केन्द्रीय सरकारको दररेटअनुसार मजदुरलाई ज्याला दिदै आएको बताएको छ । कम्पनिका प्रशासनिक कर्मचारी नारायण बरालले सो बिषयमा मजदुर र कम्पनिबीच छलफल भइरहेको बताउनुभयो ।
सुनकोसी मरिण डाईभर्सन आयोजनाका ईन्जिनियर रबी शाक्यले सो समस्याका बिषयमा ठेकेदार कम्पनि र मजदुरबीच छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले क्याम्प व्यवस्थापनलगायत पूर्वाधार निर्माणको काम भइरहेको छ । अब आगामी अप्रिल महिनामा टनेल बोरिङ मेसिल (टीबीएम) ल्याएर सुरुङ खन्ने तयारी भइरहेको छ ।’
सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपियाँमा सो कम्पनीलाई दिएको छ । आयोजनाले कुसुमटारमा सुरुङको मुख खन्न र विद्युतको पावरहाउस निर्माणलगायत अन्य व्यवस्थापनका लागि ८८ जना किसानको जग्गा अधिग्रहण गरी काम सुरु गरेको छ ।
आयोजनाकाअनुसार निर्माण कार्य आर्थिक बर्ष २०८२–८३ सम्ममा सक्ने लक्ष्य राखेको छ । सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलब तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ ।
उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबर सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने रहेको छ । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।