सिराज खान
नेपालगञ्ज, पुस १३ गते । पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरुमा नेपालगञ्जबाट खाद्यान्न ढुवानी गर्ने कार्य तीव्र रुपमा भैरहेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख राम बहादुर विष्टले चालु आर्थिक वर्षमा नेपालगञ्जबाट छ हजार ६६४ क्वीन्टल खाद्यान्न ढुवानी गरिसकिएको बताउनुभयो ।
उहाँले सो मध्ये छ हजार १९८ क्विन्टल स्थलमार्गबाट र ४२६ क्वीन्टल हवाई मार्गबाट ढुवानी गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा ३४ हजार क्विन्टल स्थलमार्गबाट र चार हजार क्विन्टल खाद्यान्न हवाई मार्गबाट ढुवानी गर्ने कम्पनीको लक्ष्य छ ।
यस क्षेत्रका पहाडी र हिमाली जिल्लाहरुमा खाद्यान्नको अभाव नहोस भन्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न ढुवानीलाई प्राथमिकतामा राखेको जनाउँदै प्रमुख विष्टले कर्णालीका हुम्ला, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र रुकुम जिल्लामा खाद्यान्न ढुवानी गर्ने कार्य भैरहेको बताउनुभयो ।
चालू आर्थिक वर्षको शुरुमा खाद्यान्न ढुवानीमा केही ढिलाइ भए पनि हाल आएर ढुवानी कार्यलाई तीव्र पारिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।
सो कार्यालयका अनुसार हालसम्म जुम्लामा सबैभन्दा बढी एक हजार ५८७ क्विन्टल, मुगुमा एक हजार ८२ क्विन्टल, जाजरकोटमा ८५३ क्विन्टल, डोल्पामा ४९५ क्विन्टल, हुम्लामा ७०० क्विन्टल र रोल्पामा ३४० क्विन्टल खाद्यान्न ढुवानी गरिसकिएको छ ।
यसैगरी, डोल्पाको जुफाल डिपोमा २९० क्विन्टल, सहतारा डिपोमा ३४० क्विन्टल, जाजरकोटको नायकवाडा डिपोमा १७० क्विन्टल र रुकुमको डिपोमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीले जनाएको छ ।
यो मौसम खाद्यान्न ढुवानीका लागि सबैभन्दा उपयुक्त रहेकाले अहिले हवाई मार्ग र स्थलमार्ग दुबैबाट ढुवानीलाई तीव्र पारिएको जनाउँदै हुम्लामा हवाई मार्गबाट मात्रै र अन्य जिल्लामा स्थलमार्ग र हवाई दुबै मार्गबाट खाद्यान्न पठाउने कार्य चलिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयका प्रमुख विष्टले बताउनुभयो ।
कम्पनीको नेपालगञ्जस्थित गोदाममा पर्याप्त खाद्यान्न रहेको जनाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी कार्यमा कुनै पनि समस्या नरहेको जनाएको छ ।