logo
२०८१ बैशाख ८ शनिवार



धान उत्पादन बढ्दै गए पनि चामलको आयात रोकिएन

अर्थ |
समाज |


धान उत्पादन बढ्दै गए पनि चामलको आयात रोकिएन


काठमाडौं, पुस १३ गते । नेपालको प्रमुख खाद्यबालीको रुपमा धानलाई चिनिन्छ । धान उत्पादनले अर्थतन्त्रका सूचकमा ठूलो परिवर्तन आउँछ । जुन वर्षमा धान उत्पादन घट्छ त्यो वर्ष कुल गार्हस्थ उत्पादन 'जीडीपी' खुम्चिन्छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्दछ । धान उत्पादनमा वृद्धि हुँदा अर्थतन्त्र बलियो देखिन्छ । नेपालमा ४१ लाख हेक्टर क्षेत्रफल कृषियोग्य रहेको मानिन्छ । तर, करिब ५५ प्रतिशत कृषिक्षेत्र जमिन बाँझो रहेको बताइएको छ । नेपालको कृषियोग्य जमिन बाँझो रहँदा र माग अनुसारको उत्पादमा कमी हुँदा चामल बाहिरी देशबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

नेपालमा जनसङ्ख्या वृद्धि हुँदै जाँदा पनि धानको माग वृद्धि हुँदै गइरहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो । अहिले नेपालले कुल आवश्यकताको करिब १५ प्रतिशत चामल आयात गरिरहेको उहाँको भनाइ छ । नेपालमा आयात हुने चामलमा बढी मात्रामा मसिनो चामल रहेको उहाँको भनाइ छ ।

नेपालमा धान उत्पादन वृद्धि भए पनि चामल आयात वृद्धि हुनु दुःखद रहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद्का धान वैज्ञानिक सुशीलराज सुवेदीले बताउनुभयो । नेपालमा उत्पादन हुने धानमध्ये ६७ प्रतिशत मोटो चामल हुने तर मानिसले मसिनो चामल, बास्नादार चामलको माग गर्ने भएकाले पनि बाहिरी चामलको आयातमा वृद्धि भइरहेको सुवेदीको भनाइ छ । 'नेपालमा ६७ प्रतिशत मोटो चामल उत्पादन हुन्छ । तर मानिहरु मसिनो, मिठो र बास्नादार चामलको माग गर्छन यसकारण पनि चामलको आयात वद्धि भइरहेको छ,' उहाँले भन्नुभयो ।

नेपाललाई वार्षिक ४७ लाख मेक्ट्रिकटन चामल आवश्यक पर्दछ । तर, प्रतिवर्ष उत्पादन भएको धानमा चामलको मात्रामा १० प्रतिशतले कमी आउँछ । बाँकी ६० प्रतिशत धान कुट्दा ३५–३७ मेट्रिक टन चामल उत्पादन हुन्छ। पछिल्लो पाँच वर्षमा धानको उत्पादन नेपालमा पछिल्लो पाँच वर्षमा धानको उत्पादनमा वृद्धि भएको देखिएको छ ।

कृषि मन्त्रालयका अनुसार  आर्थिक वर्ष  (आव) २०७३/७४ देखि २०७७/७८ सम्मको तथ्याङ्क हेर्दा धान देशमा धान उत्पादन वृद्धि भएको पाइएको हो । आव २०७३ ७४ मा १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७४/७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै, आव २०७५/७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख १० हजार ११ मेट्रिकटन धान उत्पादन भएको थियो । आव ०७६/७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै, आव २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको थियो ।

तथ्याङ्गत रुपमा हेर्दा धान लगाउने जमिनको क्षेत्रफल बढ्दै जाँदा धान उत्पादन पनि वृद्धि हुँदै गएको देखिएको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले धान उत्पादनमा वृद्धि हुँदै गएपनि नेपालमा मिठो, बास्नादार र मसिनो चामलको माग अत्याधिक बढिरहेकाले आयात बढिरहेको बताउनुभएको छ । चामलको आयात पनि बढ्दो नेपालमा उत्पादित धानले खपत हुने चामलेको मात्रालाई धान्न सक्ने अवस्था छैन । यसकारण पनि चामलको आयातमा वृद्धि भएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनुभयो ।

कृषि मन्त्रालयका अनुसार आव २०७३/७४ मा नेपालमा २३ अर्व ८७ करोड बराबरको चामल आयात भएको थियो। आव २०७४/७५ मा २९ अर्व ४१ करोडको चामल आयात भएको थियो । आ।व ०७५/७६ मा ३२ अर्व ६० करोडको चामल आयात भएको थियो । आव ०७६/७७ मा ३३ अर्व ६५ करोडको चामल आयात भएको थियो । आव ०७७/७८ मा ५० अर्व ७९ करोडको चामल आयात भएको थियो ।

नेपालमा धान खेतीको इतिहास नेपालमा १५ हजार वर्ष अघिदेखिका हाे। कपिलवस्तुको राजधानी तिलौराकोटका राजा शुद्धोधनले सुनको हलोले जमिन जोतेर वर्षे धानको खेती गरेको किंबदन्ती पाइन्छ । धान मानिसलाई जन्मदेखि मृत्युप्रर्यन्त आवश्यक खाद्यपदार्थ हो । यसकारण पनि यसको व्याख्या वेद, पुराणहरुमा पनि रहेको विज्ञको भनाइ छ ।

विश्वका आधा जनसङ्ख्याको मुख्य खाना भनेको नै चामल हो । एसिया क्षेत्रमा हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुन्छ । आव २०७७ ७८ मा हेर्दा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएकाे धानखेतीमा ५६ लाख २२ हजार मेक्ट्रिक टन धान उत्पादन भएको थियो । उत्पादकत्व ३.८ टन प्रतिहेक्टर थियो । नेपालले कुनै समयमा धान निर्यात गर्ने गर्दथ्यो ।तर विडम्बना अहिले भने धान आयात गर्नुपरेको छ ।

आज भन्दा ४० वर्ष अगाडि तराइको मेचीदेखि महाकालीसम्म धान निर्यात गर्नको लागि आठ वटा धान चामल निर्यात कम्पनी नै स्थापना भएको थियो । २०३१ सालमा नेपालले ५५ हजार किलोग्राम चामल निर्यात गरेको थियो । त्यसपछिका सात वर्ष नेपालले निरन्तर रुपमा चामल निर्यात गर्यो तर आठौं वर्षपछि नेपालले चामल आयात गर्न सुरु गर्यो । लगातार चामल आयात गर्न थालेसँगै २०४१ सालमा ती कम्पनीहरु नै बन्द भए । धानको उत्पादकत्व कसरी बढाउने धान उत्पादन धेरै होस् भन्ने चाहना  भन्ने सर्वप्रथम उन्नत बीउ रोज्नुपर्छ । जसका कारण १९–२० प्रतिशत धान वृद्धि गर्न सकिन्छ । एक केजी नाइट्रोजन मल प्रयोग गरेर २० केजी चामल फाउन सकिन्छ । यसकारण मलको प्रयोगमा पनि सन्तुलन कायम गर्नुपर्ने विज्ञको भनाइ छ । कृषिको लागि सिँचाइ मुटु नै मानिन्छ । यसकारा सिँचाइको राम्रो व्यवस्था हुनुपर्दछ । एक हेक्टरमा १०० के जी नाइट्रोजन हाल्नुछ भने युरिया आधा, कम्पोष्ट मल आधा प्रयोग गर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?