गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो । साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ ।
कम्पनीले सेवा सुरु गरेको अवसरमा छुट सुविधा पनि घोषणा गरेको छ । साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ तोकिए पनि सुरुवातको अवसरमा दुई हजार पाँच सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । यो मूल्य आन्तरिक र बाह्य दुवै पर्यटकलाई समान रहेको पनि उहाँले बताउनुभयो ।
विश्वमा दुई सय २८ मिटर उचाइमा छ सय मिटरको कुनै पनि व्यावसायिक स्काई साइक्लिङ नरहेको उहाँको दाबी छ । कम्पनीले रिसोर्टपरिसरमै गुलेली पिङ, पारिवारिक पिङ, हाई रोप स्टेसन, स्काइ चेयर, घोडचढीलगायत अन्य साहसिक खेल पनि सञ्चालन गरिरहेको छ । पोखराबाट करिब ५५ किलोमिटरका दुरीमा यो ठाउँमा पुग्न सकिन्छ ।