बैतडी समाचारदाता
बैतडी, पुस १५ गते । बैतडीको पुरचौडी नगरपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकामा रहेका तीनवटा फलामखानी उत्खननको पर्खाइमा रहेका छन् । बैतडीमा भएका फलामखानी बन्द हुँदा परम्परागत आरन बन्द भएका छन् भने फलामखानीका खाल्डोमा स्थानीयले मरेका पशुचौपाया फाल्ने गरेका छन् ।
पुरचौडी–मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा पाइने फलाम निक्कै प्रसिद्ध थियो । फलाम निकाल्न प्रयोग भएका करिब चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । त्यहाँ खानी बन्द भएपछि २० मिटर जति गहिरो फालम उत्खनन गरिएका खाडलमा स्थानीयले मरेका गाईबस्तु फाल्ने गरेको स्थानीय भरत खत्रीले बताउनुभयो । खत्रीले भन्नुभयो, “खानी सञ्चालन हुँदा यहाँ थुप्रैले रोजगारी पाएका थिए । कोही फलाम निकाल्थे, कोही भाडाँबर्तन बनाउँथे । अहिले त्यो चलन हराएको छ । रोजगारीका लागि युवा विदेशिन थालेका छन् । ”
२५ वर्षअघिसम्म सञ्चालनमा रहेको मेलौली नगरपालिकाको महारुद्रको फलाम खानी पनि अहिले बन्द अवस्था रहेको मेलौलीका स्थानीय चिन्तामणी भट्टले बताउनुभयो । त्यसैगरी गत चैतमा बैतडीको सिगास गाउँपालिका–१, सुगरखालको लोहार पानीमा भेटिएको फलाम खानी बाटोघाटो र बिजुली नहुँदा उत्खनन हुन सकेको छैन ।
खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा गत चैतमा बैतडीको सिगास गाउँपालिका–१, सुगरखालको लुहारपानीमा फलाम खानी भेटिएको थियो । यहाँ ३८ प्रतिशत म्याग्नाइट आइरन भेटिएको अध्ययन टोली सदस्य मनदीप पौडेलले बताउनुभयो । म्याग्नाइट आइरनमा पाइने ‘म्याग्नाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
बिजुली नहुँदा खानी उत्खनन गरेर फलाम निकाल्न मुस्किल भइरहेको कम्पनीले जानकारी दिएको छ । फलाम खानी उत्खनन अघि आवश्यक भौतिक पूर्वाधारका निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, “सिगासमा बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । तीन किलोमिटर सडक खनेर ११ किलोमिटर टाढा रहेको बिजुली फलाम खानीसम्म पु¥याउन सके मात्रै प्लान्ट स्थापना गर्न सकिन्छ । ”