logo
२०८१ मंसिर १३ बिहीवार



छोटी भन्सारको आयभन्दा व्यय बढी

अर्थ |


छोटी भन्सारको आयभन्दा व्यय बढी


नवराज कट्टेल

विराटनगर, पुस १६ गते । मोरङका छोटी भन्सारबाट हुने आम्दानीभन्दा खर्च बढी हुने गरेको छ । मोरङ जिल्लामा भारतसँग ६३ किलोमिटर सीमा रहेकामा यस क्षेत्रमा नौवटा छोटी भन्सार छन् । यीमध्ये सञ्चालित तीन छोटी भन्सारको वार्षिक आम्दानी ती कार्यालय सञ्चालन खर्चभन्दा कम रहेको हो ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले मायागञ्ज छोटी भन्सारले वार्षिक छ लाख रुपियाँको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको तथा रङ्गेली र डाइनियाबाट राजस्व सङ्कलन नै हुँदैन । विराटनगर भन्सारका मुख्य भन्सार अधिकृत ताराप्रसाद सापकोटाले भन्नुभयो, “राजस्व सङ्कलनभन्दा प्रशासनिक खर्च बढी छ । ” भारततर्फ भन्सार प्रशासनको काम गर्ने निकाय नभएकाले अन्दाजका भरमा राजस्व सङ्कलन गर्ने छोटी भन्सार आवश्यक नभएको उहाँले बताउनुभयो ।
अवैध व्यापार नियन्त्रण तथा वैध व्यापार सहजीकरण गर्ने उद्देश्यले स्थापना गरिएका यी छोटी भन्सार भएका ठाउँमा भारततर्फ भन्सारका लागि आवश्यक पर्ने संरचना छैन ।

यी छोटी भन्सार सञ्चालनमा समेत समस्या छ । धनपालथान–२ को मायागञ्ज, रङ्गेली र सुनवर्षीको डाइनिया छोटी भन्सार अहिले सञ्चालनमा छन् । एक जना नायब सुब्बा र दुई जना सहयोगी कर्मचारीसहित सञ्चालित छोटी भन्सारको वार्षिक राजस्व भने अति न्यून छ ।
जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेको तरिगामा, रतुवामाई नगरपालिकाको बरडङ्गाको चुनिबारी, चौकीघाट छोटी भन्सार २०५३ सालदेखि बन्द छन् ।

तत्कालीन द्वन्द्वका कारण बन्द भएका छोटी भन्सार पुनः सञ्चालनमा आउन सकेका छैनन् ।प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपियाँसम्मको सामान ल्याउँदा छोटी भन्सारले राजस्व सङ्कलन गर्दछ । भन्सार अधिकृत तिवारीले खुला सीमा क्षेत्र भएका कारण भन्सारमा नगई सामान ल्याउनेको सङ्ख्या धेरै हुन्छ । यस्तो हुँदा भन्सार राजस्व उठ्न सक्ने सम्भावना छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?