logo
२०८१ मंसिर १३ बिहीवार



तीन महिनाभित्र भैरहवा विमानस्थल उद्घाटन हुने

अर्थ |


तीन महिनाभित्र भैरहवा विमानस्थल उद्घाटन हुने



गोरखापत्र समाचारदाता

काठमाडौं, पुस १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जानकारी दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको जानकारी दिनुभयो ।

खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले व्यावसायिक उडानको बाटो पनि खुला हुने उहाँको भनाइ छ । भारतले विमानस्थल सीमा क्षेत्र नजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने जानकारी नेपाललाई गराउँदै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र सरकारलाई सबैभन्दा बढी फाइदा हुने मोडालिटी छनोट गरिने मन्त्री आलेले जानकारी दिनुभयो ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभयो । युरोपेली सङ्घ (ईयू)ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेकाले त्यसलाई हटाउन सबैले प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो । “मैले लन्डन भ्रमणका क्रममा पनि काठमाडौँबाट त्यहाँसम्म छिट्टै उडान हुने प्रतिबद्धता व्यक्त गरेको छु । सुरक्षा सूचीबाट बाहिरिन सबैले पहल गरौँ,” उहाँले भन्नुभयो । ईयूले सन् २०२२ मा नेपालको हवाई सुरक्षाको परीक्षण गर्दै छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने भएकाले विमानस्थलको व्यावसायिक योजना बनाउन सुझाव दिनुभयो । नेपालमा ५० लाखसम्म पर्यटन ल्याउन सकिन्छ भन्ने सोचका साथ हवाई पूर्वाधार निर्माणमा लाग्न उहाँले निर्देशन दिनुभयो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कोभिड–१९ को प्रभावबाट हवाई क्षेत्र बिस्तारै पुनरुत्थानको चरणमा रहेको बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९८.७६, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।

आव २०७७/७८ मा प्राधिकरणको आय प्रक्षेपणभन्दा ५७ करोड ४५ लाख रुपियाँले बढेर दुई अर्ब ६४ करोड रुपियाँ पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले सो आर्थिक वर्ष ४१ अर्ब ११ करोड रुपियाँ प्रक्षेपण गरिएकामा १६ अर्ब ८२ करोड रुपियाँ मात्र खर्च भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालू आर्थिक वर्षमा प्राधिकरणले ४३ अर्ब ६७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

‘मन्त्रालय सफल बनाउँछु’
मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई काम गरेर सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार नै आयोजित नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवका अवसरमा उहाँले मन्त्रालय मातहत हुने अनियमितता र सिन्डिकेट भत्काउन आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा उहाँले बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीप्रति आक्रोश व्यक्त गर्नुभयो । आफू जानै नपर्ने कार्यक्रममा समेत सीईओले जबरजस्ती लन्डनमा लगेको र त्यहाँ नेपालको पर्यटनसम्बन्धी प्रस्तुति फितलो रहेको उहाँको भनाइ थियो ।
सो कार्यक्रममा सचिव न्यौपानेले अब खोपसहितको पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । कोभिडपछि पर्यटनको पुनरुत्थानका लागि मन्त्रीकै नेतृत्वमा समिति बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै उहाँले पर्यटन क्षेत्रलाई वित्तीय र प्रक्रियागत सहुलियत आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?