शान्ता अधिकारी
चितवन, पुस १७ गते । मुलुक कुखुराजन्य उत्पादनमा आत्मनिर्भर रहेको भनिए पनि पछिल्लो पटक कुखुरापालन व्यवसाय सङ्कटमा रहेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसायको अवस्था पछिल्लो समयमा ज्यादै सङ्कटग्रस्त रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मागभन्दा उत्पादन बढी हुनु र दानाको मूल्य आकाशिनु यो व्यवसायका लागि सङ्कट हो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार पछिल्लो केही समययता दानाको मूल्यमा आएको उतारचढावले किसान मर्कामा परेका हुन् । खर्च बढेको तर त्यसअनुरूप आम्दानी नबढ्ने स्थिति आएपछि किसान, व्यवसायी चल्ला राख्न हिच्किचाइरहेका छन् । यसबाट किसान र ह्याचरी व्यवसायी मर्कामा परेका छन् । नेपाल ह्याचरी सङ्घ बागमती प्रदेशका अध्यक्ष ज्ञानबहादुर बिसुरालले अहिले अण्डाबाहेक चल्ला र मासुको घट्दो मूल्यका कारण व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँका अनुसार यतिवेला अण्डाबाहेक सबै उत्पादनमा समस्या छ ।
पछिल्लो समय चल्ला उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । लामिछानेका अनुसार हप्ताको ३० लाख हाराहारीमा माग रहेको बोइलर चल्लाको उत्पादन यतिबेला ४० लाखको हाराहारीमा छ । कलर बोइलरको अवस्था पनि उस्तै छ । हप्तामा दुई लाखदेखि साढे दुई लाखको उत्पादनले धान्ने यो जातको चल्लाको उत्पादन केही समययता झन्डै तीन लाख पुगेको छ । त्यस्तै हप्तामा एक लाख ५० हजारदेखि एक लाख ७५ हजारको सङ्ख्यामा बिक्री हुँदै आएको लेयर्स चल्लाको उत्पादनसमेत यतिबेला झन्डै दुई लाख ५० हजार पुगेको छ ।
बागमती प्रदेश अध्यक्ष बिसुरालका अनुसार ५० रुपियाँ लगानी पर्ने बोइलर चल्ला १५ रुपियाँ र ६० रुपियाँभन्दा बढी उत्पादन लागत लाग्ने लेयर्स चल्ला ४० देखि ४५ रुपियाँमा बेच्नुपर्ने बाध्यता छ । विष्टले यो सङ्कट मोचनका लागि सरकारले अग्रसरता देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले नीति निर्माण भए पनि कार्यान्वयनको खाँचो रहेको र राज्यले कृषि पेसा त्यसमा पनि कुखुरापालन व्यवसायलाई हेर्ने नीति नै गलत भएको आरोप लगाउनुभयो ।
२०७७ को अन्त्य र २०७८ को सुरुवातसँगै कुखुरापालन क्षेत्रमा ठूलो क्षति भएको भएपछि केही समय उत्पादन कमी थियो । मूल्य राम्रो पाएको देखिएपछि पुराना व्यवसायीले क्षमता बढाए साथै नयाँ व्यवसायी पनि प्रवेश भए । उत्पादन ह्वात्तै बढ्यो । त्यसपछि सङ्कट सुरु भएको हो । २०१७ पुस १७ गते बाराको परवानीपुरमा सरकारीस्तरबाट स्थापना गरिएको सेन्ट्रल ह्याचरीको उद्घाटन गरिएको थियो ।