logo
२०८१ मंसिर १३ बिहीवार



तरकारी बजार सञ्चालन भएन

अर्थ |


तरकारी बजार सञ्चालन भएन


बनेपा समाचारदाता

बनेपा, पुस १७ गते । किसानले उत्पादन गरेको तरकारी व्यवस्थित रूपमा बिक्री वितरण गर्न १० वर्षअघि निर्माण गरिएको तरकारी बजार सञ्चालनमा आउन सकेको छैन । बनेपा नगरपालिका–६, बुडोलमा करिब पाँच रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त तरकारी बजार सञ्चालनमा नआउँदा निर्माण भएका संरचना जीर्ण बनेको छ । स्थानीय सरकारले समेत तरकारी बजार सञ्चालनमा ल्याउन नसक्दा जीर्ण तथा कवाडीका सवारीसाधन राख्ने थलोमा परिणत भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेले २०६८ सालमा पाँचखाल, धुलिखेल, बनेपा सहरी विकास कोरिडोरअन्तर्गत ९६ लाख १५ हजार ७९७ रुपियाँको लागतमा तरकारी बजार निर्माण भएको हो ।

लामो समयदेखि बनेपाको चारदोबाटो नजिकै व्यक्तिको जग्गामा सटर निकालेर तरकारी बजार स्थापना गरिएको र केही वर्षअघि बुडोल नजिकै व्यक्तिको जग्गामा तरकारी बजारका लागि सटर/कवल निर्माण गरेपछि तरकारी बजारका लागि बनाइएको संरचना प्रयोगमा आउन सकेको छैन ।

बुडोलमा तरकारी बजार निर्माण गरिए पनि किसान तथा तरकारी व्यवसायीको लागि अपायक भएकाले सञ्चालनमा आउन नसकेको तरकारी व्यवसायी बताउँछन् । बनेपामा विशेषगरी जिल्लाको रविओपी, पाँचखाल, पनौती, नाला र धुलिखेल आसपासका किसानले तरकारी बिक्रीका लागि ल्याउने गरेका छन् । नगरपालिकाले तरकारी बजार सञ्चालनका लागि चासो नदेखाउनु र वार्षिक बजेटमा समेत तरकारी बजार सञ्चालनलाई प्राथमिकता नदिएका कारण उक्त तरकारी बजार सञ्चालनमा आउन नसकेको आरोप छ ।


पत्तालेमा हिमपात भएपछि घुइँचो
दर्जनौँ हिमशृङ्खलालाई नियाल्न सकिने सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्तालेमा पछिल्लो समय परेको हिमपातका कारण आन्तरिक पर्यटकको घुइँचो बढेको छ । सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले पत्ताले घुमफिरका लागि रोजाइमा पर्ने गरेको हो ।

सदरमुकाम सल्लेरीबाट सडक मार्ग प्रयोग गरी करिब एक घण्टाको दूरीमा रहेको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र ओखलढुङ्गाको सिमानामा पर्ने पत्तालेमा हिउँ खेल्न आउनेको सङ्ख्या धेरै रहेको हिमाली होमस्टेका सञ्चालक स्थानीय प्रकाश मगरले बताउनुभयो ।

समुद्र सतहबाट करिब दुई हजार ९०० मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत हिउँ खेल्न आइरहेको उहाँको भनाइ छ । हिउँ पनि खेल्न पाइने र सगरमाथालगायत दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन पनि एकसाथ गर्न पाउने भएकाले पर्यटकको आकर्षण बढेको हो । यहाँबाट सगरमाथा, गौरीशङ्करलगायत एक दर्जनभन्दा बढी हिमाल अवलोकनको आनन्द लिन सकिने हिउँ खेल्न त्यहाँ पुग्नुभएका कैलाश कोइरालाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?