logo
२०८१ मंसिर १३ बिहीवार



किवीको बजार अभाव हुँदा किसान मारमा

अर्थ |


किवीको बजार अभाव हुँदा किसान मारमा
सिरिजङ्घा गाउँपालिका–५ पेदाङमा उत्पादन भएको किवी । तस्बिर -चन्द्र पन्दाक ।



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १८ गते । फलफूलहरुको ‘राजा’ का नामले परिचित फल किवीको बजार अभाव हुँदा ताप्लेजुङसहित पूर्वका किसान मारमा परेका छन् । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान मारमा परेका हुन् ।

सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित यहाँका किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले सुरुको मूल्यमा प्रभावित हुँदै किवी खेती लगाएका र अहिले सोचजस्तो मूल्य नआएपछि उनीहरु निरास बनेका छन् । किवीका लागि गरेको आर्थिक लगानी डुब्ने भएकोभन्दै खेतीमा सङ्लग्न किसान चिन्तित बन्दै गएका छन् ।

आजभन्दा पाँच/सात वर्ष अघिदेखि ताप्लेजुङमा किसानले किवी खेती सुरु गरेका हुन् । धेरै किसानले व्यावसायिक रुपमा किवी खेती लगाउन सुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेको, तर मूल्य निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरुमा बजारको चिन्ता रहँदै आएको थियो ।

फुङ्लिङ नरपालिका–७ दोखुका किसान राजकुमार गुरुङले किवीको बजार माग शून्यजस्तै रहेको बताउनुभयो । जिल्लामा अधिकांश किसानले एकै समयमा किवी खेती सुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको गुरुङले बताउनुभयो । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।

यस्तै. फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरु मारमा परेको बताउनुभयो । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसानहरु मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गर्नुभयो । शीत भण्डार (कोल्ड स्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी स्थानीय कुमारी भण्डारी क्षेत्रीले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदा–रहँदै पनि यसबाट किसान बञ्चित हुनुपरेको बताउनुभयो । शीत भण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भण्डारीको भनाइ छ । त्यस्तै किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौं आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताउनुभयो । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा सङ्लग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।

यसरी उहाँहरुजस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा सङ्लग्न रहँदै आएका किसानहरु बजारको अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलोग्राम ६०० रुपियाँसम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलोग्राम ८० देखि १०० रुपियाँ सम्ममा खरिद/बिक्री हुने गरेको छ । उक्त हालको मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?