logo
२०८१ मंसिर १३ बिहीवार



मङ्सिरमै फुल्यो आँप

अर्थ |


मङ्सिरमै फुल्यो आँप


जयकृष्ण यादव

इनरुवा, पुस १९ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–९, बबियाका किसान सियाराम यादव र सत्यनारायण यादवको बगैँचाको आँपमा यस वर्ष मङ्सिरको अन्तिम सातामा नै फूल लाग्यो । सधैँ माघमा फुल्ने आँपमा यस वर्ष पहिलो पटक मङ्सिरमै फूल देखिएपछि सबै अचम्ममा परेका छन् ।

सियाराम यादवकी ८३ वर्षीया आमा कुश्मी यादवले आफूले पहिलोपटक यस्तो घटना देखेको बताउनुभयो । उहाँले मैथली भाषामा भन्नुभयो, “माघमे मजरे, फागुनमे गुजरे आ चैतमे टिकला वैशाखमे विवाह । ” उहाँको भनाइको अर्थ हुन्छ, आँपले माघमा फूल दिन्छ, फागुनमा चिचिलो लाग्छ र चैत फल लाग्छ, वैशाखमा बिहे हुन्छ । तराई मधेसमा आँपलाई नयाँ वर्षसँग जोडिन्छ, नयाँ वर्ष बैशाख १ गते टिकला (आँप) चढाउने प्रचलन छ । ६० वर्षका सियाराम पनि आफूले मङ्सिरमै आँप फुलेको कहिल्यै नसुनेको, नदेखेको बताउनुहुन्छ ।

गत वर्ष वर्षा र हावाहुरीका कारण आँप उत्पादनमा कमी आएको र यसपालि बेला नहुँदै फुलेको चर्चा गर्दै कृषि ज्ञान केन्द्र सुनसरी मोरङ कार्यालयका पूर्वप्रमुख नुनुलाल उराँवले जलवायु परिवर्तनको असरले यस्तो भएको बताउनुभयो ।
समयमा वर्षा नहुने, बेमौसमी वर्षा हुने, तापक्रमको घटबढ आदि कारणले मङ्सिरमा नै फूल लागेको हुन सक्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी अधिकृत योगेन्द्रप्रसाद यादव पनि जलवायु परिवर्तनकै कारण आँपमा छिटो फूल लागेको बताउनुभयो । छिटो आँपको बोटमा फूल लागेकाले मधुवा कीरा लाग्न नदिन विषादी छर्ने कार्य गर्न कृषकलाई सचेत गराउने र प्राविधिकसँग सल्लाह लिन पनि आग्रह गर्नुभएको छ । मौसमी र बेमौसमी हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेकाले आँपमा सिजन अघि नै प्रशस्त फूल फूलेपछि किसान अचम्मित भएको बताउनुभयो । आँपको बोटमा अत्यधिक फूल फूलेदेखि नै समयसमयमा औषधि छर्कने काम गर्दा फलाउन सक्नेसमेत यादवको तर्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?