प्रेमराज सिम्खडा
कालीकोट, पुस १९ गते । पछिल्लो समय गाउँमा तरकारी व्यवसायमा नागरिकको रुचि देखिन थालेको छ । सुक्खा क्षेत्रका रूपमा परिचित जिल्लाको पलाँता गाउँपालिकामा कृषकहरू सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन् । गाउँपालिकाको वडा नं ९ थिर्पु जिउला खेतीका हिसाब गाउँपालिकाभित्रै राम्रो उत्पादन हुने क्षेत्र हो ।
थिर्पु जिउलाको सिरानमा सिँचाइ कुलो भएकाले जुनसुकै बाली लगाउन पनि सकिन्छ । वर्षातको समयमा धान खेती हुने यो खेतमा हिउँदको समय गहुँसँगै पछिल्लो समय तरकारी खेती गर्न थालिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले एकल तथा सामूहिक तरकारी खेती गर्नेलाई अनुदानको समेत व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्थानीय तहसँग साझेदारी गर्ने गैरसरकारी संस्थाले पनि नागरिकलाई आत्मनिर्भर गराउनेखालका कार्यक्रम ल्याएकाले सजिलो भएको बताउनुभयो । अध्यक्ष बमले गतवर्ष किसानले लगाएको लसुनले बजार नपाउँदा आफूले खरिद गरेर जिल्लाबाहिर पठाएको सुनाउनुभयो ।
“हामीले तरकारी खेती गर्नुहोस् भन्यौँ तर बजार नभएकाले गर्दा किसानलाई निराश बनाउनुभन्दा आफैँले खरिद गरियो । अनि जिल्लाबाहिर पठाएर पनि बजारसम्म पु¥याएको अध्यक्ष बमको भनाइ छ । केप्टा परियोजना संयोजक नरेन्द्रबहादुर शाहीले पनि किसानले उत्पादन गरेको वस्तु आफूले खरिद गरी अन्य समुदायमा अनुदान दिएको सुनाउनुभयो । थिर्पुकी उइजना बमले गत वर्ष आफूले उत्पादन गरेको बन्दा र काउलीबाट १० हजार नगद कमाइ भएको बताउनुभयो ।