गोपी ज्ञवाली ।
नवलपरासी, पुस १९ गते । पश्चिम नवलपरासीमा ऊखुको उत्पादन घट्दै गएको भए पनि यस वर्ष जिल्लाका दुई चिनी उद्योग सञ्चालन हुने भएका छन् । पश्चिम नवलपरासीका किसानहरुले उखुको उत्पादन छाडेर अन्य खेतीतर्फ लागेपछि नवलपरासीमा ऊखुको अभाव भए पनि यस वर्ष जिल्लाका सुनवलस्थित लुम्बिनी चिनी मिल, सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मात्र सञ्चालनको तयारीमा रहेका छन् भने प्रतापपुर गाँउपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग सञ्चालन अन्योलमा रहेको मिल सञ्चालकहरुले बताएका छन् ।
चिनी उद्योग सञ्चालकहरुले ऊखु उत्पादक किसानहरुलाई समयमा भुगतानी नदिँदा किसानहरुले उखुको खेती नै गर्न छाड्दै गएका कारणले अहिले जिल्लामा रहेका चिनी उद्योगहरुलाई ऊखुको अभाव रहेका कारण सञ्चालनमा आउने चिनी उद्योगले समेत पूरा क्षमतामा चिनी उद्योगहरु सञ्चालन हुन नसक्ने अवस्था रहेको लुम्बिनी चिनी उद्योगका प्रमुख प्रशासकीय अधिकृत केशव आचार्यले बताउनुभएको छ । आचार्यका अनुसार जिल्लामा उखुको अभाव रहेको भए पनि यस वर्ष पुरै क्षमतामा संचालन हुने अवश्था रहेको छैन तर पनि किसानहरुको उखु जति हुन्छ त्यति नै ऊखु क्रसिङ गर्ने गरी तयारी गरिएको छ । तर किसानहरुलाई बीउमा रिण दिएर भए पनि आगामी दिनमा ऊखुको उत्पादन बढाउने तयारी उद्योगहरुले नै गर्नुपर्ने अवस्था छ ।
ऊखुको अभाव नै रहेको भए पनि बागमती चिनी उद्योगले गत शुक्रबारदेखि बागमति खांडसारी चिनी मिल प्रा.लि.कुडियाले ऊखुको क्रसिंग शुरु गरेको बागमती खांडसारी चिनी मिल प्रा.लि.का सञ्चालक राम थापाले बताउनुभयो । यसैगरी, सुनवलस्थित लुम्बिनी चिनी मिलले उद्योग सञ्चालनका लागि किसानहरुलाई दिनुपर्ने बाँकी रकम भुक्तानी गरिसकेको र उद्योग गेटमा ऊखुको खरिद शुरु गरिसकेको छ । लुम्बिनी चिनी मिलले उद्योग सञ्चालनको सबै तयारी पूरा भइसकेकाले यो मिल मंगलबारदेखि सञ्चालनको तयारीमा रहेको उद्योगका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।
यसैगरी जिल्लामा रहेको अर्को ठूलो चिनी उद्योग इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्री प्रा.लिले अहिलेसम्म करिब दुई करोड रुपियाँ किसानहरुलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उक्त चिनी उद्योग सञ्चालनको विषयमा अन्योल रहेको उखु कृषक समितिका नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ताले बताउनुभयो ।
जिल्लामा यस वर्ष उखुको उत्पादन ५० प्रतिशतभन्दा बढी घटेर जम्मा १२ लाख क्विन्टल उखु मात्र उत्पादन हुने अवस्था छ । बागमती चिनी उद्योग कुडियाले पूरा क्षमतामा उखु क्रसिङ गर्दा एक सिजनमा मात्र १४ लाख क्विन्टेल उखु आवश्यक पर्ने बागमती चिनी उद्योग कुडियाका सञ्चालक राम थापाले बताउनुभयो । यस वर्ष बागमती सुगर मिल कुडियाले मात्र उद्योग सञ्चालनमा ल्याएको छ । यस वर्ष कुडिया सुगर मिलले पाँच लाख क्विन्टल मात्र उखु क्रसिंङ गर्ने तयारीमा रहेको उद्योग सञ्चालक थापाले बताउनुभयो ।
सात वर्षदेखि चिनी उद्योगहरुले उखुको पैसा समयमा भुक्तानी नगरेपछि उखुखेती छाडेर अन्य खेतीतर्फ लागेका कारण यो वर्ष जिल्लाका चिनी उद्योगहरु सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको उखु कृषक समिति नवलपरासीका अध्यक्ष गुप्ताले बताउनुभयो ।