कञ्चनपुर, पुस १९ गते । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु. पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक रु. ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ ।
त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक रु. तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत रु. सात करोड ५० लाख सङ्कलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब रु. चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी रु. २१ करोड पुर्याइएको थियो ।