गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २० गते । नेपाल राष्ट्र बैङ्कले क्रस होल्डिङ रहेका लघुवित्त कम्पनीलाई मर्जरको कार्ययोजना पेस गर्न पनि निर्देशन दिएको छ । सोमाबार एक निर्देशन जारी गर्दै ‘क’ ‘ख’ र ‘ग’ वर्गका एउटै बैङ्क तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थाबीच एक आपसमा मर्ज हुन कार्ययोजना पेस गर्न निर्देशन दिएको हो ।
त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र राष्ट्र बैङ्कलाई कार्ययोजना पेस गर्न निर्देशन दिएको हो ।
स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने
नेपाल राष्ट्र बैङ्कले पछिल्लो समय वाणिज्य बैङ्कमा देखिएको तरलताको अभाव हटाउन स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कको बैङ्किङ विभाग, सरकारी लेखा फाँटले सोमबार वाणिज्य बैैङ्कका लागि सर्कुलर जारी गर्दै मङ्गलबारदेखि नै लागू हुनेगरी यस्तो व्यवस्था गरिदिएको हो ।
यो रकम आयात र व्यापारिक क्षेत्रबाहेक उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । यसले पछिल्लो समय वाणिज्य बैङ्कमा देखिएको तरलताको अभाव हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्र बैङ्कले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम वाणिज्य बैङ्कहरूमा नै रहने र २० प्रतिशत रकम मात्र राष्ट्र बैङ्कमा जम्मा हुनेगरी प्रतिवेदन पेस गर्न भनेको छ ।