गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २० गते । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउनेछन् ।
प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।