ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, पुस २१ गते । किवीको बजार अभाव हुँदा ताप्लेजुङसहित पूर्वका किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले धेरै किसान किवी खेतीतर्फ आकर्षित भएका थिए तर अहिले सोचजस्तो मूल्य नआएपछि उनीहरू निराश बनेका छन् । लगानी नै डुब्ने चिन्तामा किसान परेका छन् ।
पाँच÷सात वर्षअघिदेखि ताप्लेजुङमा किसानले व्यावसायिक किवी खेती सुरु गरेका हुन् । फुङ्लिङ नगरपालिका–७, दोखुका किसान राजकुमार गुरुङले किवीको बजार माग शून्यजस्तै रहेको बताउनुभयो । जिल्लामा अधिकांश किसानले एकै समयमा किवी खेती सुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको गुरुङले बताउनुभयो । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसान वञ्चित हुनुपरेको उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लामा झन्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।
फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताउनुभयो । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गर्नुभयो । शीतभण्डार (कोल्ड स्टोर)सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।
सिरिजङ्घा गाउँपालिका–५, पेदाङकी कुमारी भण्डारी क्षेत्रीले पनि किवीबाट राम्रो फाइदा लिन नसकेकामा दुःख व्यक्त गर्नुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भण्डारीको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायतका खाद्य तथा पेय पदार्थ उत्पादन गर्नसके मात्रै आम्दानी राम्रो हुने उहाँको निष्कर्ष छ । पाथीभरा याङ्वरक गाउँपालिका–३, तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताउनुभयो । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।