गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । अर्थमन्त्री जनार्दन शर्माले सन्तुलन कायम गरेर मात्र ठूला आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार लगानी बोर्डको बैठकमा उहाँले पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर मात्र ठूला आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
विकासमा सन्तुलन आवश्यक रहेकाले बोर्डले ठूला आयोजना तथा उद्योगको क्षेत्रगत विशिष्टीकरणमा बोर्डले काम गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’जस्ता योजना अगाडि सार्न बोर्डलाई निर्देशन दिनुभयो । जलविद्युत् क्षेत्रमा तीनवटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि उहाँले निर्देशन दिनुभयो । “बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा तपाईंहरूले ध्यान दिनुहोस्” उहाँले भन्नुभयो ।
काठमाडौँ सहरको नयाँ संस्करण आवश्यक रहेको पनि अर्थमन्त्रीको भनाइ थियो । विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको उहाँको धारणा छ । उहाँले भन्नुभयो, “दूरदराजका ठाउँमा नयाँ काम ग¥यो भने त्यहाँ सहर बन्दो रहेछ । नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका खुल्नेछ । ”
मन्त्री शर्माले काठमाडौँ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । यसका लागि अध्ययन गर्नसमेत उहाँले निर्देशन दिनुभयो । “काठमाडौँ–पोखरा, पोखरा–लुम्बिनी फास्टट्र्याक वा लिक (रेल) बनाए पनि भयो तर द्रुत गतिमा पुग्ने हुनुप¥यो,” उहाँले भन्नुभयो ।