logo
२०८१ मंसिर १३ बिहीवार

   स्की रिसोर्ट निर्माणका लागि गुरुयोजना तयार   



कालिञ्चोक कुरीमा स्की तालिम

अर्थ |


कालिञ्चोक कुरीमा स्की तालिम


बाबुराम शर्मा

चरीकोट, पुस २४ गते । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घको संयुक्त आयोजनामा दोलखाको कालिञ्चोक कुरीमा एक हप्ते स्की तह–१ तालिम सुरु भएको छ । मनोरञ्जनात्मक स्की खेलका माध्यमले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिनुभयो । यो तालिममा प्रशिक्षार्थीलाई स्की खेल्ने तरिका, शरीरको सन्तुलनलगायतका सीप सिकाइनेछ । तालिममा चार जना प्रशिक्षक र १९ जना प्रशिक्षार्थी रहेको आयोजकले जानकारी दिएका छन् । आइतबार सम्पन्न हुने स्की तालिमको अन्त्यमा प्रशिक्षार्थीलाई प्रयोगात्मक सीप परीक्षण पनि गरिन्छ । यसबाट पास भएकाले तह–२ को तालिममा भाग लिन सक्नेछन् ।

कुरीमा सन् २०१५ देखि नै तालिम सञ्चालन हुँदै आएको छ । यो छैटौँ ब्याच तालिम सञ्चालन भएको हो । पाँचौँ ब्याचसम्ममा १०० जना स्की तह–१ का खेलाडी तयार भइसकेका छन् । स्की तह–१ पास गरेका व्यक्तिलाई तह–२ का तालिमका लागि स्विट्जरल्यान्ड, फ्रान्सलगायतका मुलुकमा लगिनेछ भने तह–३ को तालिम भने नेपालमै छ हजार मिटरभन्दा माथिका हिमालमा गराइन्छ । तह–३ को तालिम प्राप्त गरेका व्यक्ति प्रशिक्षक बन्न पाउने प्रतिष्ठानका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

विश्वमै लोकप्रिय स्की खेलका लागि कालिञ्चोक कुरी उपयुक्त ठहरिएको छ । नेपाल सरकारले कुरीलाई स्की रिसोर्टका रूपमा विकास गर्न गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको छ । आगामी वर्षदेखि रिसोर्टको काम थालनी हुने पनि उहाँले जानकारी दिनुभयो ।

स्कीका लागि बागलुङको ढोरपाटन, मुस्ताङको मुक्तिनाथ र कर्णालीको खप्तडलगायतका थुप्र्रै ठाउँको सम्भाव्यता अध्ययन भइसकेको छ । स्की खेलको विकास गर्न र पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । छ हजारभन्दा माथिका हिमाल मेरापिक स्कीका लागि उपयोगी मानिन्छ । यो स्कीमा बाह्य पर्यटकको विशेष रुचि हुने देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?